काठमाडौं- नयाँ शक्ति पार्टीले स्थानीय तह चुनावमा भाग लिने भएको छ । पार्टीको वैशाख ६ देखि ८ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावमा जाने निर्णय गरेको हो।
पार्टीले चुनावमा जानका लागि निर्वाचन आयोगले दलीय आधारमा चुनाव चिह्न दिनुपर्ने सर्त राखेको छ। आयोगबाट दलीय चुनाव चिह्न प्राप्त गर्न पार्टीले सम्पूर्ण शक्ति प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको छ। नयाँ शक्तिले आँखा चुनाव चिह्न मागेको छ। आयोगले भने नयाँ शक्तिलाई दलीय चुनाव चिह्न दिन अस्वीकार गरेको छ।
‘दलीय आधारमा चुनाव लड्न चुनाव चिह्न पाउनुपर्ने मागसहित चुनावमा होमिने निर्णय गरेका छांै,' कार्यकारिणी समिति सदस्य पर्शुराम खापुङले भने, ‘दलीय आधारमा चुनाव लड्न चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय अत्यन्त अलोकतान्त्रिक छ,'
पार्टीले एक साताभित्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
यसैबीच, नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकीरणका लागि शुक्रबार तीन सदस्यीय एकता संयोजन समिति गठन भएको छ । सो समितिमा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई छन्। नयाँ शक्ति र फोरम नेपालबीचको एकतालाई चाँडै तार्किक निष्कर्षमा पुर्याइने नयाँ शक्ति र फोरम नेपालले शुक्रबार संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा जनाइएको छ। नयाँ शक्तिका कार्यकारिणी सदस्य खापुङले चाँडै नयाँ शक्ति र फोरम नेपालबीच एकता हुने बताए।
प्रकाशित: ९ वैशाख २०७४ ०३:०४ शनिबार