राजनीति

सोमलालबाट सुरु भयो गोलमाल

मुख्यसचिवको प्रतिस्पर्धामा चुकुल

मुख्यसचिवको ३ वर्षे कार्यकाल पूरा नगरी राजीनामा दिने/दिन लगाउने परम्परा तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीको पालाबाट सुरु भएको थियो। 

त्यसपछि सरकारले मुख्यसचिवलाई राजीनामा गर्न लगाउने र रिक्त ठाउँमा आफू अनुकूलका सचिवलाई बढुवा गर्ने परम्पराजस्तै बस्यो। यो परम्परा प्रशासन क्षेत्र सुधारका लागि अत्यन्त हानिकारक हुने प्रशासनविद् बताउँछन्।

बिहीबार भएको मुख्यसचिवको नियुक्ति पनि यही गोलमालको उपज हो। यहाँ प्रतिस्पर्धाका आधारमा भन्दा पनि आफ्नो अनुकूलका व्यक्तिलाई जसरी हुन्छ मुख्यसचिव बनाउने परम्परा बसिसकेको छ। त्यसैले मुख्यसचिव शंकरदास वैरागीको तीन बर्से कार्यकाल सकिन साढे ३ महिना बाँकी हुँदा सरकारले उनलाई राजीनामा गर्न लगाएर उक्त पदमा बैकुण्ठ अर्याललाई लगेको छ जबकि सचिव अर्यालको पाँचबर्षे कार्यकाल असार ३ गते सकिँदै थियो। 

पूरा कार्यकाल पूरा नगरी मुख्यसचिव पदबाट राजीनामा गर्ने परम्परा तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीले सुरु गरेका हुन्। एक वर्ष कार्यकाल बाँकी छँदै उनी एसियाली विकास बैक (एडिबी) को वैकल्पिक सल्लाहकार पदमा जागिर खान फिलिपिन्स पुगे। तर उनले सरकारी सेवाबाट राजीनामा भने दिएनन्। उनले आफ्नो विषयमा आफैँ निर्णय गरे। सुवेदी स्वयंले आफूलाई अतिरिक्त समूहमा राखे। सुवेदीको अतिरिक्त समूहमा बस्ने स्वनिर्णयलाई तत्कालीन सरकारले मान्यता दिएन। त्यसपछि उनले २०७४ साउन २२ गते सरकारी सेवाबाट राजीनामा दिए। सुवेदीप्रति सरकार थप कठोर बन्यो। उनलाई सरकारले फिलिपिन्सबाट फिर्ता बोलायो। त्यस बेला उनी फिलिपिन्स गएको एक वर्ष भएको थियो।

सुवेदीपछि राजेन्द्र किशोर क्षेत्री मुख्यसचिव भए। तर उनी चार महिना जति मात्र मुख्यसचिवको जिम्मेवारीमा रहे। ५८ वर्षे उमेर हदका कारण क्षेत्रीले २०७४ कात्तिक ६ गते अनिवार्य अवकाश पाए। त्यसपछि लोक दर्शन रेग्मी मुख्यसचिव भए। सरकारले रेग्मीलाई पूरा कार्यकाल काम गर्न नदिई राजीनामा गर्न लगायो। त्यसपछि शंकदरदास वैरागी मुख्यसचिव बनेका थिए।

पूरा कार्यकाल पूरा नगरी मुख्यसचिव पदबाट राजीनामा गर्ने परम्परा तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीले सुरु गरेका हुन्। एक वर्ष कार्यकाल बाँकी छँदै उनी एसियाली विकास बैक (एडिबी) को वैकल्पिक सल्लाहकार पदमा जागिर खान फिलिपिन्स पुगे।

रेग्मीले पूरा कार्यकाल काम गर्न पाएको भए २०७७ कात्तिक ६ गते अवकाश पाउँथे। त्यस बेला सचिव पदमा कार्यरत वैरागीले २०७७ असोज २२ गते सेवाबाट अनिवार्य अवकाश पाउँथे। उनी परराष्ट्र मन्त्रालयका सचिव थिए। तर बैरागीलाई मुख्यसचिव बनाउन तत्कालीन सरकारले रेग्मीलाई राजीनामा दिन लगायो। त्यसबापत उनलाई बेलायतको राजदूत बनाइयो। रेग्मीले पूरा कार्यकाल काम गरेको भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसुधन अधिकारीमध्येबाट एकले मुख्यसचिव बन्ने अवसर पाउँथे। वैरागी मुख्यसचिव भएपछि प्रतिस्पर्धामा रहेका तत्कालीन पर्यटन सचिव केदार अधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका तत्कालीन सचिव मोहकृष्ण सापकोटाको मुख्यसचिव बन्ने ढोका बन्द भएको थियो।  

प्रकाशित: १ असार २०८० ०९:२४ शुक्रबार

मुख्यसचिवको प्रतिस्पर्धामा चुकुल सोमलालबाट सुरु भयो गोलमाल मुख्यसचिवलाई राजीनामा गर्न लगाउने र रिक्त ठाउँमा आफू अनुकूलका सचिवलाई बढुवा गर्ने परम्पराजस्तै बस्यो