राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकिएको छ। सो प्रकरणमा ५ जना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका छन् ।

शुक्रबार जवाफी बहस सकिएपछि आजै थुनछेक आदेश दिने तयारी जिल्ला अदालत काठमाडौंले गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा गत जेठ २१ गतेबाट थुनछेक बहस जारी थियो।  

बहसका क्रममा आरोपतिका कानसन व्यवसायीहरुले थुनामुक्त गरेर अनुसन्धान अगाडी बढाउन माग गरेका छन् भने सरकारी वकिलहरुले आरोपितहरुलाई थुनामै राखेर मुद्दाको अनुसन्धान अघि बढाउनु पर्ने जिकिर गरेका थिए। आरोपीहरुलाई थुनामुक्त गरे प्रमाण नष्ट गर्न सक्ने र अनुसन्धानमा प्रभाव पार्न सक्ने तर्क सरकारी वकिलको छ।  

उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्वनमा परेका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ।

शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ। उनीहरूविरुद्ध कीर्ते, ठगी, संगठित अपराध, एकीकृत कसुर समेत गरेकाले सोही अनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो। त्यसमाथि सार्वजर्नक ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय हुन सक्छ। कैदका साथै २८ करोड ८१ लख रुपैयाँ बिगोसमेतको माग गरिएको छ। उक्त घटनामा अझै १२ जना फरार छन्।

प्रकाशित: १ असार २०८० ०८:२२ शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो आजै आदेश आउने