राजनीति

रौतहट र सर्लाहीमा सिंचाइको विशेष सुविधा: माधव नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले रौतहट र सर्लाहीमा सिँचाइको विशेष प्याकेज ल्याइएको बताएका छन्। 

उनले सिँचाइको सुविधा नपुगेको ठाउँका लागि सरकारले विशेष सुविधा ल्याएको बताएका हुन्। गृह नगर रौतहट आएका नेपालले आफ्नो पार्टीको भागमा रहेको कृषि मन्त्रालयले कृषि उत्पादन बढाउन पहल गरिरहेको बताए। 

रौतहट तथा सर्लाहीमा सिँचाइ सुविधाको लागि विशेष प्याकेजको रुपमा तीस अर्ब रुपैयाँ विनियोजन गरिएको उनले सुनाए। दुवै जिल्लामा सिँचाइको लागि डिप बोरिङको विशेष प्याकेजले किसानलाई सुविधा मिल्ने अध्यक्ष नेपालको भनाइ छ। एउटा डिप बोरिङले साठी बिगाहा खेतमा सिँचाइ सुविधा उपलब्ध हुने नेता नेपालले दाबी गरे।

साठी बिगाहा खेतमा सिँचाइ सुविधा उपलब्ध हुनु भनेको दुई बालीको राम्रो उत्पादन हुने भएर एक सय बीस बिगाहा बराबरको उत्पादन हुने अनुमान पनि नेता नेपालले गरेका छन्।

राजनीतिक सन्दर्भलाई कोट्याउँदै नेता नेपालले गठबन्धनमा विभिन्न पार्टी रहेको तर नेकपा एमालेले नेकपा एसको नाम पनि सुन्न नचाहेको जिकिर गरे।

गृह जिल्ला रौतहट आउँदा नेता नेपालले स्थानीय बज्जिका भाषामा आफ्नो मन्तव्य राख्ने गरेका छन्।

प्रकाशित: ३२ जेष्ठ २०८० १३:०७ बिहीबार