राजनीति

रास्कोट नगरपालिकामा बराल भिड्दै

मतदातासंग मत माग्दै एमालेका मेयर उम्मेदवार मनिराज बराल ।

कालिकोट – नेकपा एमालेले जिल्लाको रास्कोट नगरपालिकामा मेयरको उम्मेदवारमा टुंगो लगाएको छ । एमालेले मनिराज बराललाई मेयरका लागि टुंगो लगाएको हो ।

बराल बडिमालिका माविका प्राचार्य तथा रास्कोट बहुमुखी क्याम्पसका प्रमुख पनि हुन् । रास्कोट नगर कमिटीले बराल लगायतका कालीबहादुर शाही र तुलाराज सिम्खाडाको सिफारिस जिल्ला कमिटीमा गरे पनि अन्ततः बरालको सहमतिमा टुंगो लागेको पार्टी स्रोतले बताएको छ । मेयरको टुंगो लागे पछि एमालेले रास्कोट नगरपालिकामा मत माग्दै घरदैलो अभियान संचालन गरेको छ ।

जिल्लामा सबै पार्टीको नजरको केन्द्रबिन्दु बनेको नगरपालिकामा एमाले, काँग्रेस र माओवादी केन्द्रको प्रतिस्पर्धा हुँदैछ । मेयरको टिकट पाएका मनिराज बरालले भने, ‘मेरो पक्षमा एमालेका सबै नेता कार्यकर्ताले हार्दिकता देखाएकै काराण मलाई मेयर पदमा उम्मेद्वार बनाएका हुन् ।’ सबैको सहयोगले आफ्नो पक्षमा जित हुने बरालले दावी गरेका छन् । ३१ वर्षसम्म अध्यापनमा व्यस्त रहेका बराल पेशागत महासंघका केन्द्रीय सदस्य समेत रहेका छन् । उनि एमाले निकट शिक्षक संगठनको पूर्व जिल्ला अध्यक्ष हुन् । जिल्लाका तीन वटा नगरपालिका मध्ये रास्कोट नगरपालिकामा मात्र मेयर उम्मेदवारको टुंगो लागेको एमाले जिल्ला अध्यक्ष नगिन्द्र शाहीले बताए । उनले भने, ‘केही दिनभित्रै सबै नगरपालिका र गाउँपालिकामा टुंगो लाग्छ ।’ 

रास्कोट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले मेयरको टुंगो लगाएको छैन् । नेकपा एमाले रास्कोट नगर कमिटीले वडा नम्वर ९ फुकोटमा वडा कमिटीको कार्यालय उद्घाटनसहित ताम्ती र बालुखेतबाट घरदैलो चुनावी अभियान सुरु गरेको छ । जिल्लामा ६ गाउँपालिका र ३ नगरपालिका रहेका छन् । 
 

प्रकाशित: ६ वैशाख २०७४ ०७:४७ बुधबार

रास्कोट नगरपालिकामा बराल भिड्दै