राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक आदेश हुन सकेन

लम्बियो प्रतिरक्षा बहस

नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत जिल्ला अदालत काठमाडौंमा १० दिनदेखि चलिरहेको थुनछेक बहस निर्धारित समयमा नसकिएपछि इजलास आदेश दिन असफल भएको छ। प्रतिवादीतर्फका वकिलहरूको प्रतिरक्षा बहस लम्बिएकाले इजलासले बुधबार थुनछेक आदेश दिन नसकेको हो।  

यही जेठ २१ गते इजलास सुरु गर्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले १० दिनपछि (जेठ ३१) गते सबै बहस सकेर थुनछेक आदेश दिने कार्यतालिका तय गरेका थिए। जसमा पहिला तीन दिन (जेठ २३ गतेसम्म) वादी पक्षका वकिललाई बहसका लागि निर्धारण गरिएको थियो। त्यसपछिका ६ दिन (जेठ ३० गतेसम्म) प्रतिवादीका वकिलका लागि प्रतिरक्षा बहसको समय तोकिएको थियो। बुधबार (जेठ ३१ गते) जिल्ला सरकारी वकिल कार्यालयबाट जबाफी बहस गराएर थुनछेक आदेश दिने कार्यतालिका तय गरिएको थियो। जसअनुसार वादी पक्षका वकिलले सुरुमा निर्धारित समयमै बहस सकाएका थिए।  

तर प्रतिवादीतर्फका वकिलले भने निर्धारित समयमा बहस नसकेपछि बुधबार समय थप गरिएको थियो। थप समयमा पनि प्रतिवादीतर्फका वकिलले प्रतिरक्षा बहस सकेका छैनन्। बुधबारको सुनुवाइ सकिँदा पक्राउ परेकामध्ये अझै तीनजना प्रतिवादीका वकिलहरूले प्रतिरक्षा बहस गर्न बाँकी छ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, लक्ष्मी महर्जन र हरिभक्त महर्जनका वकिलहरूको आफ्नो तर्फको बहस बाँकी छ। उनीहरूको बहस बिहीबार हुने भएको छ।  

बिहीबार प्रतिरक्षा बहस सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंबाट जबाफी बहसका लागि इजलासले समय दिने कार्यक्रम छ। त्यसपछि मात्रै न्यायाधीश न्यौपानेले थुनछेक आदेश दिनेछन्।  

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणि न्यौपानेले बिहीबार थुनछेक आदेश आउनसक्ने सम्भावना रहेको बताए। ‘चारजनाको बाँकी भए पनि श्रीमान् (न्यायाधीश) इरिटेड हुनुभएको छ। उहाँहरूको छोटोछोटो गरेर टुंग्याउन सके बिहीबार नै आदेश आउनसक्छ,’उनले भने, ‘हाम्रो तर्फबाट मैले आफैं जबाफी बहस गर्ने तयारी गरेको छु। त्यति धेरै समय लाग्दैन।’

खाणको प्रतिरक्षामा झन्डै दुई दिन बहस

पूर्वगृहमन्त्री बालकृष्ण खाणको प्रतिरक्षा बहसमा उनका वकिलहरूले झन्डै दुई दिन लिएका छन्। उनको पक्षबाट मंगलबार दिनभर १० जना वकिलहरूले बहस गरेका थिए। उनको तर्फबाट बहस गर्न ३४ जना वकिलले वकालतनामा भरेका छन्। मंगलबारको सुनुवाइमा १० जना वकिलले खाणको प्रतिरक्षामा बहस गर्दा ‘हाइ प्रोफाइल’वकिलहरू भने छुटेका थिए। उनीहरूले आफूले पनि बहस गर्न पाउनुपर्ने भन्दै समय माग गरेपछि न्यायाधीश न्यौपानलेले मन मारेर बुधबारको समय थपेका थिए।  

थपिएको समयमा बुधबार खाणको पक्षमा पाँचजना वकिलले बहस गरेका छन्। यसरी बहस गर्ने १५ जनाभित्र तीन पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्षसहित हाई प्रोफाइल वकिल छन्। पूर्व महान्यायाधिवक्तामा खम्मबहादुर खाती, रमणकुमार श्रेष्ठ र महादेवप्रसाद यादव र नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले खाणको प्रतिरक्षा बहस गरेका छन्। यस्तै बारका दुईजना पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्कासहित सर्वोच्च बारका पूर्वअध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि खाणको पक्षमा प्रतिरक्षा बहस गरेका छन्। यस्तै बुधबार नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँका वकिलले पनि प्रतिरक्षा बहस गरेका छन्।

‘अभियोगपत्र कि हावादारी पत्र?’

खाणको पक्षमा प्रतिरक्षा बहस गरेका सबैजसो हाई प्रोफाइल वकिलहरूले उनी निर्दोष रहेको दाबी गरेका छन्। वकिलहरूले खाणको राजनीतिक यात्रालाई प्रभावित पार्न प्रहरी र सरकारी वकिललाई प्रयोग गरी जबरजस्ती प्रकरणमा तानेर मुद्दा चलाइएको दलील पेस गरेका छन्। पूर्व महान्यायाधिवक्ता खातीले खाणविरुद्ध जाहेरी नपरेको न कुनै संलग्नता पुष्टि गर्ने प्रमाण रहेको दाबी गर्दै कसैबाट जबरजस्ती पोल्न लगाएर आरोप लगाई मुद्दा चलाइएको दाबी गरे। ‘यो प्रकरणमा बालकृष्ण खाणबाट कोही पनि पीडित भएको छैन। न कसैले जाहेरी दिएको छ, न कुनै पैसा लिएको प्रमाण छ,’ उनले भने, ‘अभियोगपत्रमा पनि जाहेरवालाले खाणलाई कति रकम दिए भन्ने नै उल्लेख छैन। यसरी अनाहकमा आरोप लगाएर मुद्दा चलाउने यो अभियोगपत्र हो कि हावादारी पत्र हो।’  

बारका अध्यक्ष घिमिरेले केशव दुलालले दिएको भनिएको बयानलाई नै आधार मानेर खाणलाई मन्त्रालयमै लगेर बुझाएको भनिएको १ करोड २४ लाख रूपैयाँको विषयमा अनुसन्धान नै नगरिएको भन्दै प्रश्न उठाए। ‘बिचौलियाले उहाँलाई मन्त्रालयमै गएर १ करोड २४ लाख दिएको भनिएको छ। त्यसको आधिकारिक प्रमाण खोज्नुपर्छ कि पर्दैन,’ उनले भने, ‘यदि त्यसो थियो भने मन्त्रालयको सिसिटिभी चेक हुनुपर्ने होइन, त्यत्रो रकम बोकेको झोला कसरी सिंहदरबार छिर्यो। गेट, मन्त्रालयको गेट सबैठाउँको सिसिटिभी फुटेज त हेर्न मिल्छ होला।’ पाइनसक्ने यस्ता प्रमाणसम्बन्धी विवरण छानबिन नगरी निर्दोष मान्छे फसाउन बयानकै भरमा अभियोग लगाउनु बदनियत रहेको उनले दाबी गरे।  

सरकारी वकिल कार्यालयबाट हचुवाका भरमा मुद्दा आएको भन्दै अध्यक्ष घिमिरेले त्यसले उनीहरूको दक्षतामाथि नै प्रश्न उठ्ने दाबी गरे। उनले भने, ‘उहाँहरू भोलि न्यायाधीश बन्नुहोला। त्यतिबेला उहाँहरूलाई यस्तो हलुँगो बयानबारे प्रश्न सोधे के जवाफ दिनुहुन्छ?’ खाणको राजनीतिक करिअरलाई ‘ड्यामेज’ गर्न नै मुद्दा लगाइएको उनले दाबी गरे। ‘बालकृष्ण खाण भोलि प्रधानमन्त्री, पार्टी सभापति नै बन्नसक्ने व्यक्ति हुन्। त्यही भएर उहाँको छविलाई ड्यामेज गर्न यो मुद्दा लगाइएको हो,’ घिमिरेले भने।  

प्रकाशित: ३२ जेष्ठ २०८० ००:५३ बिहीबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक आदेश हुन सकेन