राजनीति

चुनावबारे कांग्रेसमै फरक मत

नेपाली काँग्रेसले मंगलबार झापाकाे कमल गाउँपालिकाकाे अादिवासी रंगशालामा अायाेजना गरेकाे प्रदेश १ स्तरीय चुनावी सभामा सहभागी

विराटनगर – नेपाली कांग्रेसका दुई प्रभावशाली नेताले स्थानीय तहको निर्वाचनका विषयमा फरक–फरक अभिव्यक्ति दिएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताए । पार्टीका महामन्त्री शशांक कोइरालाले भने मधेसी मोर्चा सहमतिमा आए निर्वाचनको मिति सार्न मिल्ने प्रतिक्रिया दिए । 

झापाको दमकमा मंगलबार आयोजना गरिएको कांग्रेसको क्षेत्रीय सम्मेलनमा सहभागी हुन विराटनगर विमानस्थल आइपुगेका वरिष्ठ नेता पौडेलले तोकिएकै मितिमा निर्वाचन हुने बताए । पत्रकारसित कुरा गर्दै उनले भने, ‘हिमाल, पहाड, तराई–मधेस सबैतिर निर्वाचनको वातावरण बनिसकेको छ, निर्वाचन मिति सार्नु हुन्न ।’ उनका अनुसार सबै राजनीतिक पक्षलाई मिलाएर एकै चरणमा निर्वाचन गर्नुपर्ने पक्षमा कांग्रेस छ । 

‘संविधान कार्यान्वयनका लागि पनि निर्वाचन आवश्यक छ,’ नेता पौडेलले भने, ‘सबैलाई मिलाएर तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ ।’ लामो समयसम्म निर्वाचन नहुँदा देशले गति लिन नसकेको भन्दै पौडेलले अब कुनै पनि बहानामा निर्वाचन मिति सार्न नहुने अडान राखे । 

उनले मधेसी मोर्चाको आन्दोलनले समस्या समाधान नहुने पनि बताए । ‘वार्ता, छलफल र सहमतिबाटै राजनीतिक समस्या हल गर्ने हो,’ उनले भने, ‘आन्दोलनले समस्या झन् बल्झाउँछ ।’ जनताको भावना पनि निर्वाचन हुनुपर्ने रहेकाले त्यो भावनाको कदर गर्न पनि मधेसी मोर्चा निर्वाचनमा सहभागी हुनुपर्ने पौडेलको सुझाव छ । 

कांग्रेस महामन्त्री कोइरालाले भने राजनीतिक सहमतिमा निर्वाचन मिति सार्न सकिने बताए । ‘राजनीति सहमति हुन्छ भने हप्ता–दस दिन निर्वाचन मिति सारेर पनि मधेसी मोर्चालाई सहभागि गराउनुपर्छ,’ महामन्त्री कोइरालाले भने, ‘मोर्चा सहमतिमा आउँछ भने निर्वाचन मिति सार्दा हुन्छ ।’ 

उनले स्थानीय तहको निर्वाचन सार्थक बनाउन पनि मधेसी मोर्चालाई चुनावमा सहभागी गराउनुपर्ने बताए । ‘हिमाल, पहाड, तराई–मधेस सबै जनताको भावनाअनुसार एकै चरणमा निर्वाचन  हुनुपर्छ,’ उनले भने । 

संविधान संशोधन प्रस्तावमा भएको असहमतिमा मोर्चासँग वार्ता गरेर राजनीतिक निकास दिनुपर्ने कोइरालाको भनाइ छ । मोर्चाले पनि मुलुकलाई निकास दिन सीमांकनका विषयलाई स्थानीय निर्वाचनपछि आयोगमार्फत टुंगो लगाउने गरी सहमति खोज्नुपर्ने उनले बताए । 

तीनै तहको निर्वाचन समयमै गराउन समय छोटो भए पनि राजनीतिक दलमा इच्छाशक्ति भए मोर्चालगायत सबैको सहमतिमा निर्वाचन सफल हुने कोइरालाले बताए । 

प्रकाशित: ६ वैशाख २०७४ ०२:३३ बुधबार

चुनावबारे कांग्रेसमै मत