राजनीति

काठमाडौंमा मेयरका दुई उम्मेदवार घोषणा

काठमाडौं – काठमाडौं महानगरपालिकामा दुई दलले मेयर घोषणा गरेका छन् । काठमाडौं जिल्लामा दर्ता भएका ४७ दलमध्ये मंगलबारसम्म दुई दलले मेयर उम्मेदवार घोषणा गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सरकारका पूर्वसचिव किशोर थापालाई र विवेकशील नेपाली दलले स्नातक अध्ययनरत छात्रा रञ्जु दर्शनालाई मेयर उम्मेदवार घोषणा गरेका हुन् । 

थापाले निजामती सेवामा ३२ वर्ष बिताएका छन् । आर्किटेक्ट इन्जिनियर उनी २०३१ सालको एसएलसीका बोर्ड टपर हुन् । निजामती सेवामा राम्रो छवि बनाउन सफल थापाले म्यानमारको राष्ट्रिय आवास नीति निर्माणमा अन्तर्राष्ट्रिय विज्ञका रूपमा काम गरेका छन् । यस्तै उनको २२ वर्षदेखि काठमाडौं महानगर विकासका लागि विभिन्न तहमा बसेर काम गरेको अनुभव छ । उनले सहरी विकास, शिक्षा, पर्यटन मन्त्रालय, निर्वाचन आयोग र जल तथा ऊर्जा आयोगमा सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । 

काठमाडौंको सडक विस्तार, मेलम्ची खानेपानी आयोजनालाई तीव्रता दिने, नेपालको २० वर्षे ऊर्जा विकास योजना, बाहिरी चक्रपथलगायतका आयोजनाको नेतृत्व पनि थापाले गरेका थिए । 

थापा भन्छन्, ‘काठमाडौंको हरेक गल्ली चिन्छु । प्राविधिक कर्मचारीका हैसियतले काम गरेको हुँ । अब राजनीतिक नेतृत्व लिन चाहन्छु ।’ राजनीतिक अन्योल र अस्तव्यस्तता हटाउन राजनीतिक नेतृत्वमा प्राविधिक, प्रशासकीय, व्यवस्थापकीय क्षमता मिसाउने इच्छा रहेको उनले बताए । 

काठमाडौंको चोभारमा जन्मिएका थापा हाल बल्खु बस्छन् । लीलामणि पौडेल चीनका लागि नेपाली राजदूत बनेर गएपछि थापाले बागमती सफाइको अभियान सम्हालेका छन् । 

विवेकशील नेपाली दलका तर्फबाट मेयरको उम्मेद्वार घोषणा गरिएकी रञ्जु २०५२ सालमा काठमाडौं महाराजगन्जमा जन्मिएकी हुन् । एकल आमा र हजुरआमासँगै हुर्किएकी उनी विकास अध्ययनमा स्नातक तहमा अध्ययनरत छिन् । 
मुलुकको अस्तव्यस्तता देखेर राजनीतिप्रति आकर्षित भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘सबैले गरिखान पाउने वातावरण बनाउनुपर्छ । काठमाडौंलाई हिडुँहिडुँ लाग्ने र हरियाली बनाउन चाहन्छु ।’ 

राजनीतिमा रहेको फोहोर सफा गर्न, देश बनाउने विवेकशील नेपाली दलको अभियानले आफू आकर्षित भएको उनले बताइन् । तीन वर्षदेखि उनी सो दलमा आबद्ध छिन् । उनले विवेकशील पार्टीको सञ्चार विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी छिन् । उनी एक वर्षअघि भएको पार्टी महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएकी हुन् ।

प्रकाशित: ६ वैशाख २०७४ ०१:४७ बुधबार

काठमाडौंमा मेयरका दुई उम्मेदवार घोषणा