राजनीति

दललाई उम्मेदवार छान्ने चटारो

खोटाङ- खोटाङका राजनीतिक दल वैशाख ३१ गतेको निर्वाचनका लागि योग्य उम्मेदवार छान्न व्यस्त छन्। कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रबीचमा प्रतिस्पर्धा हुने देखिएको जिल्लामा मेयर र उपमेयरको टुंगो नलागे पनि कतिपय गाउँ प्रमुख र वडा प्रमुखको उम्मेदवार भने टुंगो लागिसकेको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश क्षेत्रमा जित सुनिश्चितताका लागि हरेक दल आआफ्नो रणनीति तयार पार्न अभ्यासरत छन्। निर्वाचनको मिति नजिकिएसँगै दललाई उम्मेदवार छान्ने चटारो लागेको छ। उम्मेदवार छान्ने विषयमा छलफल जारी रहे पनि निर्णय भने कुनै पनि दलबाट हुन सकेको छैन।

मेयरका आकांक्षीमा एकभन्दा धेरै नेता तथा कार्यकर्ताको लर्को लागेपछि कतिपय पार्टीलाई उम्मेदवार व्यवस्थापनमै चुनौती थपिएको छ। कतिपय पार्टीका प्रभावशाली नेता एउटै नगरपालिकामा परेका कारण पनि टिकट व्यवस्थापनमा समय लागेको हो। मेयर र उपमेयरका लागि उम्मेदवार बन्न एमालेले कार्ययोजना नै पेस गर्नुपर्ने मापदण्ड बनाएको छ।

एमालेले दुई नगरपालिकाको मेयर र उपमेयरको टुंगो नलागे पनि तीन गाउँपालिका प्रमुख र अधिकांश वडाअध्यक्षको उम्मेदवार छानिसकेको जनाएको छ। हालसम्म लामीडाँडा गाउँपालिकाको प्रमुखमा लीला निरौला, जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा शंकर राई, बराहपोखरी गाउँपालिकाको प्रमुखमा गणेश कोइरालालाई सर्वसम्मत उम्मेदवार घोषणा गरिएको एमालेले जनाएको छ। एमालेबाट रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा देवविक्रम राई, जलसेर राई, कुमार आचार्य, दीपनारायण रिजाल, वीरबलकाजी राई, भागवत घिमिरे, उपिन राई, रमेश परियार र गोपालचन्द्र आचार्यको नाम चर्चामा छ। हलेसी तुवाचुङ नगरपालिकामा खडेन्द्र राई, सुरेन्द्र राई, अकिल राई, विष्णु दाहाल, मनिषा राईमध्ये एकले मेयरको टिकट पाउने सम्भावना छ।

एमालेले रुपाकोट मझुवागढी नगरपालिका–३ मा निरबहादुर राई, ७ मा दिलचक्र राई, ८ मा लीलाकुमार चौहान, १० खार्मीमा हर्कराज राई, १३ नुनथलामा दिनेश सामपाङ र १४ बुइँपामा दिनेश राईलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै, हलेसी तुवाचुङ नगरपालिका–९ अर्खौलेमा किशोर श्रेष्ठ, ७ महादेवस्थानमा लंकशेर राईलगायतलाई वडाध्यक्षको उम्मेदवार सिफारिस गरिएको एमाले अध्यक्ष बबी चाम्लिङले बताए।

केपिलासगढीको प्रमुखमा कृष्ण राई र हरीश्चन्द्र राई, ऐसेलुखर्क गाउँपालिकामा गृहकुमार राई, वर्ण राई, लवकुमार राई, साकेला गाउँपालिकामा विक्रम चौलागाईं, गोपी खड्का, बद्री राई, दिप्रुङ गाउँपालिकामा अर्जुन रोका, नरेश राई, शिवराज राई, चर्च विक, दिलीप राई तथा खोटेहाङमा प्रदीप राई, राजन बन्जरा, अर्जुन गैरापिप्ले, मिलन श्रेष्ठ, गोकुल परियारको नाम चर्चामा छ।

कांग्रेस पनि उम्मेदवार छान्दै

खोटाङमा नेपाली कांग्रेसले पनि उम्मेदवार छानिरहेको छ। सार्वजनिक नगरे पनि नगरपालिका र गाउँपालिकामा उम्मेदवार टुंगो लगाउने काम अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ। स्रोतका अनुसार रुपाकोट मझुवागढी नगरपालिकामा राजनशेर राई, नवराज केसी, दुर्गाप्रसाद घिमिरे, तीर्थ भट्टराई, रोजन राई, प्रकाश श्रेष्ठ, ज्ञानेन्द्र जोशीमध्ये एकजनालाई मेयरको उम्मेदवार बनाउने तयारी छ। यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा चक्रकुमार राई, इवन राई, दिनेश राई, दुरेन राई, विमला राईमध्ये एकजनाले मेयरको टिकट पाउने कांग्रेस स्रोत बताउँछ। यस्तै, लामीडाँडा गाउँपालिकामा फटिक श्रेष्ठ, जनक कार्की, ऐसेलुखर्क गाउँपालिकामा विश्वनाथ निरौला, केपिलासगढीमा समिर राई, भक्तजङ राई, वीरकाजी राई, मनोज तिम्सिना, साकेला गाउँपालिकामा इच्छुराम राना, रमेश खड्का, राम सामपाङ, कृष्ण भट्टराई, दिप्रुङ गाउँपालिकामा केशवराज कार्की, भूपेन्द्र राई, शरण राई, दीपराज राई, तीर्थराज राई, जन्तेढुंगामा राम श्रेष्ठ, खेम खड्का र देवराज बस्नेतको सम्भावना बलियो छ।

बराहपोखरी गाउँपालिकामा भुवन श्रेष्ठ, जीवन राई, शालिकराम बन्जरा, खिलाराज राई, खोटेहाङ गाउँपालिकामा प्रेमकुमार राई, भरत पोखरेल, तारानाथ भट्टराई, कुमार उदासलगायतको नाम वडाध्यक्ष उम्मेदवारका रुपमा चर्चामा छ।

यस्तै, नेकपा माओवादी केन्द्रले पनि दुई नगरपालिका र आठ गाउँपालिकामा उम्मेदवार छानिरहेको छ। माओवादीका तर्फबाट रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका लागि दुर्गाजयन्ती राई, ध्रुव बुढाथोकी, जयप्रसाद आचार्य, सुरेश राई, होमकाजी आचार्य, मदन तामाङ, धुर्वा राईलगायतको नाम चर्चामा छ। हलेसी तुवाचुङ नगरपालिकामा जीवन राई, सन्देश राई, गोपाल दाहाल, रुपनारायण दाहाल, हस्तबहादुर राईलगायतमध्ये कुनै एकलाई मेयरको उम्मेदवार बनाउने माओवादी केन्द्रको तयारी छ। माओवादी केन्द्रले पनि केही दिनपछि नगरपालिका र गाउँपालिकाको उम्मेदवार घोषणा गर्ने जनाएको छ।

प्रकाशित: ५ वैशाख २०७४ ०५:२८ मंगलबार

दललाई उम्मेदवार छान्ने चटारो