राजनीति

‘चुनाव' बोलाउँदै थवाङ

दाङ- नेपाली कांग्रेस ‘रोल्पा थवाङ' गाउँ एकाइ सभापति कमल रोकालाई दुई दिनअघि आफ्नो राजनीतिक थलो (थवाङ) बाट फोन आयो। चुनाव बहिष्कारको नीति लिएकै दलका एक नेताले उनलाई स्थानीय चुनाव प्रचारका लागि थवाङ फर्किन निम्तो दिँदै थिए, ‘गाउँ फर्किनोस्, अब सहकार्य गरेर चुनावमा लागौं।' रोकालाई निम्तो दिने स्थानीय तह निर्वाचन बहिष्कार नीति लिएको नेपाल कम्युनिस्ट पार्टीका नेता हुन्।

पछिल्लो संविधानसभा निर्वाचनमा शून्य मतदान अवस्थामा पुगेको थवाङमा अहिले चुनावी उत्साह छाएको छ।

जनताको अधिकारसँग प्रत्यक्ष जोडिने यो निर्वाचनलाई बहिष्कार गर्नु गलत हुने बुझेका उनी राजनीतिक सिद्धान्तै बदल्न पनि राजी छन्। चुनाव बहिष्कार नीतिबाट अलग रहने मनस्थितिमा रहेका उनी आफंै उम्मेदवार बन्ने योजनामा छन्। कांग्रेसमा प्रवेश गरेर उम्मेदवार बन्ने प्रस्ताव उनले पार्टीसमक्ष पेस गरिसकेका छन्। ‘म कांग्रेस प्रवेश गरेर तपाईंहरूसँगै हिँड्न चाहन्छु,' ती नेतालाई उद्धृृत गर्दै कांग्रेस एकाइ सभापति रोकाले भने, ‘म बहिष्कार होइन, स्थानीय निर्वाचनमा उम्मेदवार बनेर थवाङलाई चुनावमय बनाउन चाहन्छु।'

कांग्रेस प्रवेश गरेर थवाङ गाउँपालिका प्रमुखमा निर्वाचन लड्ने ती नेताको प्रस्तावबारे कांग्रेसले निर्णय भने लिइसकेको छैन। कांग्रेस थवाङमा चुनावी प्रचार तीव्र पार्ने तयारीमा छ। ‘थवाङमा पार्टी गतिविधि गर्न त्यहाँ रहेका धेरै कम्युनिस्ट नेताले सुझाव दिनुभएको छ,' रोकाले भने, ‘अब हामी पार्टी कार्यालय स्थापना गर्ने र उम्मेदवार टुंगो लगाउने गरी चाँडै थवाङ जाँदैछौं।' थवाङमा कांग्रेस एकाइ समिति भए पनि चलायमान छैन। बहिष्कृत थवाङी मानसिकताका कारण त्यो गाउँ एकाइ समितिका सबै पदाधिकारी थवाङभन्दा वर्षौंसम्म टाढै रहे। तर अहिले थवाङबाटै चुनावी प्रचारका लागि गरिएको निम्तोले थवाङ धेरै सहज भइसकेको बुझिन्छ।

पछिल्लो संविधानसभा निर्वाचनमा शून्य मतदान अवस्थामा पुगेको थवाङमा अहिले चुनावी उत्साह छाएको छ। निर्वाचन बहिष्कृत नीति अबलम्बन गरेका कट्टर कम्युनिस्ट नेताले पार्टीगत रूपमा बोल्दा चुनाव बहिष्कारमा जोड दिए पनि समग्र थवाङ बहिष्कारका पक्षमा नरहेको तिनै नेता बताउँछन्। ‘थवाङमा चुनावी उत्साह छ,' केहि दिनअघि थवाङमा जिल्ला समिति बैठक सम्पन्न गरेका कांग्रेस रोल्पा सभापति तथा सांसद अमर पुनले भने, ‘बहिष्कार नीति लिएकाले चुनावको विरोध गरे पनि त्यो सीमित मात्रको हो, समग्र थवाङ चुनावको पक्षमा छ।'

कुनै बेला चुनाव बहिष्कारको नीति अवलम्बन गरेर निकै कडा स्वरुप प्रस्तुत गरेको थवाङ अहिले नरम बन्दै छ। कुनै बेला संसदीय शक्तिलाई ‘प्रवेश निषेध' को नारा बोकेर अवरोधमा उत्रिएको थवाङको बोली अहिले नरम बनेको छ। पुनले भने, ‘पहिलाको जस्तो कडा स्वभाव थवाङमा अहिले बाँकी छैन।'

एमाले पनि थवाङमा बलियो जनमत खडा गर्ने रणनीतिमा छ। स्थानीय तह कार्यान्वयनसँगै सहज बनेको थवाङको मत कसरी आफ्नो पक्षमा पार्ने भन्ने रणनीति बनाइसकेको छ। एमाले थवाङ गाउँ कमिटी अध्यक्ष हितबहादुर रोका भन्छन्, ‘थवाङ फेरिइसकेको छ, हामी संगठन विस्तारमा थवाङमा सक्रिय छौं।' स्थानीय निर्वाचनमा थवाङ गाउँपालिका प्रमुखको उम्मेदवारका रुपमा चिनिएका उनी चुनावी अभियानमा छन्। रोल्पाका मिरुल, उवा तथा थवाङ गाविसलाई समेटेर थवाङ गाउँपालिका निर्माण गरिएको छ। गाउँपालिकाको केन्द्र थवाङ तोकिएको छ। अहिले थवाङीमा ‘सौहार्दता तथा मेलमिलाप' को सोच हाबी भएको छ। केही दिनअघि गाउँ प्रवेश गरेका कांग्रेस नेतालाई त्यहाँ फूलमालाले स्वागत गरिएको थियो। ‘यसले पनि बहिष्कारको नीति थवाङमा अब नरहेको सहजै मान्न सकिन्छ,' एमाले थवाङ गाउँ किमटी अध्यक्ष रोका भन्छन्, ‘कांग्रेस साथीलाई पनि उनीहरूले फूलमालाले स्वागत गरे।'

निर्वाचनविरोधी नभए पनि माओवादी केन्द्रप्रतिको रुष्टता भने थवाङले साँचिरहेकै छ। तत्कालीन विद्र्रोमा होमिन प्रेरित गरेको माओवादी केन्द्र थवाङदेखि टाढिनुले त्यहाँ वितृष्णा मौलाएको कांग्रेस रोल्पा सभापति पुन बताउँछन्। 

थवाङको चुनावी इतिहास

‘थवाङ' ले जहिले पनि राज्यबाट उपेक्षित ठान्यो। त्यसैले थवाङले राज्यलाई बहिष्कृत नजरले हेरेको लामो इतिहास छ।

 

इतिहासमै राजा र राज्य सत्ताबाट अलग हुन चाहने थवाङीले २०६४ मा ३ मतबाहेक सबै प्रचण्ड (पुष्पकमल दाहाल) लाई दिएका थिए। २०७० सालको संविधानसभा चुनावमा एकमत पनि खसालेनन्। २०३६ सालमा सतप्रतिशत मत बहुदललाई खसालेका थवाङीले २०१५ सालको निर्वाचनमा सबै मत थवाङबाटै उम्मेदवार बनेका खगुलाल गुरुङलाई दिएका थिए।

२०३८ सालमा रित्तो मतपेटिका फिर्ता भएको थवाङमा २०५६ को निर्वाचनमा हेलिकप्टरबाट पुगेका २ जनाले मात्र मतदान गरेका थिए। २०५४ मा चुनावै भएन। अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ मा ४ मत मात्र खसेको थियो। २०३९ सालको स्थानीय चुनावमा उठ्न खोज्दा समर्थक र प्रस्तावक नपाएपछि अध्यक्ष र उपाध्यक्ष मात्र प्रतिस्पर्धामा आएका थिए।

यसकारण ७० मा शून्य मतदान

सदरमुकामबाट २८ कोस टाढा दर्जनांै पहाड काटेर दुई दिनको पैदल यात्रापछि पुगिन्छ थवाङ। कुनै समयमा माओवादी र थवाङ एउटै भन्दा पनि हुन्थ्यो। कारण यहींबाट जन्मिएको थियो माओवादी ‘जनयुद्ध'। त्यसक्रममा यहाँका थुप्रैले ज्यान गुमाए।

यहाँ मगर र दलितको बस्ती बाक्लो छ। आधारभूत सेवा नहुँदा जीवन कष्टकर छ। देशमा राजतन्त्र हटेर गणतन्त्र आउँदा पनि त्यसको अनभूति गर्न पाएका छैनन् थवाङीले। 

समानताका नाममा माओवादीले सबैलाई बन्दुक पड्काउन सिकायो। एक दशकबीचमा माओवादी दुई पटक सत्तामा पुग्यो तर जन्मथलोलाई गर्व गर्न सक्ने केही काम नेताले नगरेको थवाङीको गुनासो छ।  थवाङीलाई सपना बेचेर माओवादी नेताले सहर र सत्तासँग साइनो लगाएको स्थानीयलाई मन परेको छैन। त्यसमा पनि सत्ता कलहलाई लिएर छोटै समयमा माओवादी चिराचिरा भएपछि थवाङीको मन पनि छिन्नभिन्न भएको छ। ‘पहिलेका चुनाव बहिष्कार लहलहैमा गरिएको भए पनि २०७० को चुनाव भने सचेत रूपमा, सचेतढंगले गरिएको हो,' नेकपा–माओवादीका सन्तोष बुढाले भने, ‘पञ्चायत, बहुदल र गणतन्त्रमा विद्रोह गरेको छ थवाङले।'  आफ्नो नेताप्रतिको विद्रोहका कारण ०७० मा शून्य मतदान गरेका थिए थवाङीले।

तर अहिले चुनाव चाहन्छन् थवाङी। अहिले चुनावपछि गाउँमै ‘सिंहदरबार' पुग्ने भनिएकाले पनि उनीहरूको मन फेरिएको छ। यसर्थ बहिष्कार नीति बोकेका कट्टर पनि चुनावमा होमिन सिद्धान्त परिवर्तन गर्ने योजनामा पुगिसकेका छन्।

प्रकाशित: ४ वैशाख २०७४ ०४:१८ सोमबार

चुनाव बोलाउँदै थवाङ