राजनीति

४ महिला गाउँ प्रमुखमा सिफारिस

दोलखा- दोलखा एमालेका स्थानीय कमिटीबाट ४ महिलालाई गाउँपालिका प्रमुखमा उम्म्मेदवार बनाउन जिल्ला कमिटीमा सिफारिस भएको  छ। दोलखा एमालेले सबै वडा, गाउँ/नगरपालिका कमिटीलाई चैत मसान्तभित्र उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर गरेको थियो। जसअनुसार जिल्लाा ७ गाउँपालिका र २ नगरपालिका मध्ये तीन गाउँपालिका प्रमुखको उम्मेदवार बनाउन ४ महिलाको नाम सिफारिस भएर आएको हो। सिफारिस भएका ६४ उम्मेदवारमध्ये ४ जना महिला छन्।

एमाले जिल्ला कार्यालयका अनुसार कालिञ्चोक गाउँपालिकाबाट कालिका पाठक, बिगु गाउँपालिकाबाट गोमा केसी र तामाकोशी गाउँपालिकाबाट सिर्जना कार्की र उर्मिला खड्का प्रमुखको उम्मेदवारका लागि सिफारिस भएर आएका हुन्। उनीहरू वडा, गाउँपालिका कमिटीबाट सिफारिस भएको जिल्ला कमिटीले जनाएको छ।

सिफारिस नाम टुंगो लगाउन एमालेले बुधबारदेखि जिल्ला कमिटी बैठक डाकेको छ। जिल्ला कमिटीमा सर्वसम्मत नभए तीन जनाको नाम प्रदेश कमिटीमा पठाउने तयारी जिल्लाको छ।

दोलखा एमालेमा प्रमुख पदको उम्मेदवारका लागि सिफारिस भएका महिलालाई टिकट पाउन भने चुनौती छ। महिला सिफारिस भएर आएका स्थानमा पुरुष धेरै छन् त्यसमा पनि प्रभावशाली बढी छन्। तर सिफारिस भएका चारैजना टिकट पाउन योग्य रहेको एक जिल्ला सदस्यले बताए।

कालिञ्चोक गाउँपालिकाबाट सिफारिस पाठक केन्द्रीय तहमा पनि पहुँच भएकी दोलखा एमालेकी प्रभावशाली नेत्री हुन्। २०४९ देखि अखिलको सदस्य हँुदै राजनीतिमा प्रवेश गरेकी पाठक निवृत्त शिक्षिका हुन्। उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला उपाध्यक्ष, अखिल नेपाल महिला संघको जिल्ला सचिव, शिक्षक युनियनको जिल्ला उपाध्यक्ष हुँदै ३ कार्यकालदेखि लगातार पार्टी जिल्ला कमिटी सदस्य छिन्। ‘सामाजिक काम र २७ वर्षदेखि पार्टीमा गरेकी छ्, मलाई पार्टीले उम्मेदबार बनाउन योग्य ठान्नेमा विश्वस्त छ,' उनले भनिन्। पाठकसँगै कालिञ्चोकबाट एमाले जिल्ला उपसचिव डबल पाण्डे, नेता होम पाठकलगायत प्रमुख पदको उम्मेवादरका लागि सिफारिस भएका छन्।

बिगु गाउँपालिकाबाट सिफारिस भएकी केसी जिल्ला कमिटी पूर्वसदस्य हुन्। पेसाले शिक्षिका उनी पार्टीले उम्मेदवार बनाउने निर्णय गरे जागिर छाडेर गाउँपालिकाको नेतृत्व गर्ने तयारीमा छिन्। ‘प्रमुख नै लड्ने अठोटपछि सिफारिसमा परेकी हुँ' उनले भनिन्। तर इच्छा राखे पनि नेतृत्वले टिकट दिनेमा उनी विश्वस्त भने छैनन्। केसीसँगै प्रमुख पदको उम्मेदवारमा ३  पुरुष सिफारिस भएका छन्। यस्तै उपप्रमुखमा २ महिला सिफारिस भएका छन्।

तामाकोशी गाउँपालिकाबाट प्रमुख पदका लागि सिफारिस कार्की र खडकाको पनि गाउँपालिका हाँक्ने धोको छ। ‘९ जनामध्ये दुई महिला सिफारिस भएका छौं', कार्कीले भनिन्, ‘हामी दुईमध्ये एकले टिकट पाउने आशा राखेका छौं।' कार्की अनेमसंघ दोलखाको पूर्व अध्यक्ष हुन्। खड्का उम्मेदवारको टिकट पाए शिक्षक सेवाबाट राजीनामा दिने तयारीमा छिन्।

यीबाहेक २ नगरपालिका र ४ गाउँपालिका प्रमुखमा महिला आकांक्षी छैनन्। उपप्रमुखमा भने प्रशस्तै छन्। उम्मेदवारको टुंगो १२ गतेभित्र लगाइसक्ने एमाले जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए।

प्रकाशित: ४ वैशाख २०७४ ०४:१५ सोमबार

महिला गाउँ प्रमुखमा सिफारिस