राजनीति

प्रधानमन्त्री दाहालविरुद्ध रिट दर्ता

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

माओवादीका पूर्वलडाकु लेनिन विष्टले आफूलाई बालसैनिकका रूपमा दुरूपयोग गरिएको भन्दै दाहालविरुद्ध सर्वोच्च अदालतमा दिएको निवेदन आइतबार दर्ता भएको हो। उक्त रिट जेठ १६ गते दरपीठमा परेको थियो। तर दरपीठ नगर्नू भन्ने आदेशपछि आइतबार रिट दर्ता भएको हो।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले दरपीठ भएको उक्त रिट निवेदन दर्ता गराउन शुक्रबार आदेश दिएको थियो। विष्टले दाहालका साथै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाएका छन्।

आफूजस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाका रूपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै दाहाल र भट्टराईलाई विपक्षी बनाएर उनी सर्वोच्च अदालतमा रिट लिएर गएका थिए।

प्रकाशित: २९ जेष्ठ २०८० ०१:४१ सोमबार

प्रधानमन्त्री दाहालविरुद्ध रिट दर्ता माओवादीका पूर्वलडाकु लेनिन विष्ट बालसैनिकका रूपमा दुरूपयोग