राजनीति

शिक्षकका आँखा स्थानीय तहमा

सिन्धुपाल्चोक- प्रधानाध्यापकका रूपमा माध्यमिक विद्यालयको नेतृत्व गर्ने महिला जिल्लामा थोरै छन्। तीमध्येकी हुन् शोभा उलक। शिक्षणमा उनले ३० वर्ष बिताइन्। चौतारास्थित वनदेवी माविकी प्रधानाध्यापक उनले वैशाख ३ गतेबाट लागू हुने गरी केही दिनअघि मात्र राजीनामा दिइन्। उमेरअनुसार उनी अझै केही वर्ष शिक्षण गर्न सक्छिन्।

शिक्षण पेसाबाट किन राजीनामा दिएको भन्ने जिज्ञासामा उनले भनिन्, 'लामो समय केटाकेटी पढाइयो। अब बाँकी जीवन राजनीति गर्ने हो।' चौतारा–साँगाचोकगढी नगरको उपमेयरमा कांग्रेसबाट उनको एकल नाम चर्चामा छ। जिल्ला शिक्षा कार्यालयमा राजीनामापत्र पेस गरेपछि उनी मतदाता भेटघाटमा व्यस्त छिन्। सोमबार स्याउलेमा भोट माग्न व्यस्त उनले नागरिकसँग भनिन्, 'चुनावी मैदानमा उत्रिसकें, अब पछि हटिन्न।'

 शारदा उच्चमावि बाह्रबिसेका प्रधानाध्यापक यम बस्नेत यसै साता शिक्षा कार्यालय पुगेर राजीनामाबारे जिज्ञासा राखे। फर्कन लाग्दा उनले जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेसँग भने, 'वैशाख ३ गते मेरो राजीनामा आउँछ। त्यसै दिन स्वीकृत गरिदिनुहोला।' जिल्लामा मावि प्रथम (सहसचिवसरह) श्रेणीका दुई शिक्षक मात्र छन्। तीमध्ये एक बस्नेतले कांग्रेसबाट बाह्रबिसे नगरपालिकाको मेयरमा आँखा लगाएका छन्।

ठूलोसिरुबारीका शिक्षक कुलप्रसाद दाहाल त महिनादेखि भोट माग्न व्यस्त छन्। चौतारा–साँगाचोकगढी नगरपालिका–१३ को वडाध्यक्षमा उनले दाबेदारी प्रस्तुत गरेका छन्। टिकट पाए माओवादी केन्द्रबाट र नपाउँदा स्वतन्त्रबाट प्रतिस्पर्धा गर्ने उनको तयारी छ। चैत पहिलो साता उनले दिएको राजीनामा स्वीकृत भइसकेको छ।

 जिल्लाका शिक्षकको ध्यान झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनले तान्न थालेको छ। अवकाशका लागि सेवाअवधि पूरा गरेका शिक्षक विभिन्न पदमा प्रतिस्पर्धा गर्न चाहन्छन्।

 'चुनावमा उठ्ने बताउँदै धेरै शिक्षकले राजीनामाबारे जिज्ञासा राखेका छन्,' जिशिअ घिमिरेले भने, 'राजीनामा आइसकेको भने छैन।' वैशाख सुरु भएपछि राजीनामाको लहर चल्नसक्ने उनी बताउँछन्। उनका अनुसार वैशाख सुरु भएपछि राजीनामा दिँदा शिक्षकको एक ग्रेड थपिन्छ। त्यो ग्रेडले अवकाशपछिको सेवासुविधामा झन्डै २२ हजार रुपैयाँ फरक पर्छ।

पेसाबाट राजीनामा गरेका ककलिङहरिसिद्धि माविका शिक्षक कैलाश थापा लिसंखु–पाखर गाउँपालिकाको वडाध्यक्षमा एमालेबाट प्रतिस्पर्धा गर्ने तयारीमा छन्। महेन्द्र मावि इँचोकका शिक्षक खेतनाथ घिमिरे पनि राजीनामा गरेर चुनावी अभियानमा निस्केका छन्। उनी कांगेसबाट हेलम्बु गाउँपालिकाको वडाध्यक्षका आकांक्षी हुन्।

शिक्षकहरू बद्री नेपाल, उमा दुलाल, राजु लामा, मीना नेपाल, तारादेवी राना पार्टीमा उम्मेदवारी दाबी गर्दै शिक्षणबाट राजीनामा दिने तयारी छन्। उनीहरू माओवादी केन्द्रसँग टिकट लबिङ गरिरहेका छन्। मीना र तारादेवीको नाम चौतारा–साँगाचोकगढी नगरपालिकाको उपमेयरमा चर्चा छ। बद्री र दुलाल सोही नगरका वडाध्यक्षका आकांक्षी हुन्। लामा लिसंखु–पाखर गाउँपालिकाको वडाध्यक्षको उम्मेदवार बन्न चाहन्छन्।

 बाह्रबिसे नगरपालिकामा एमालेबाट मेयरका आकांक्षीमध्येका तीर्थ ढकाल शिक्षक हुन्। उनी शारदा उच्चमाविमा पढाउँछन्। ज्यामिरेका शिक्षक कमल खड्का र ठाकुरनाथ कुइँँकेल मेलम्ची नगरका वडाध्यक्षका आकांक्षी छन्। जनता माविका प्रधानाध्यापक कुइँकेल एमाले र खड्का कांग्रेसका हुन्। राजीनामा तयारी गरेका शिक्षक हेमगंगा मोक्तान एमालेबाट लिसंखु–पाखर गाउँपालिकाको अध्यक्षको आकांक्षी छन्। मांखाका स्रोत व्यक्ति (शिक्षक) कृष्णप्रसाद आचार्य कांग्रेसबाट बलेफी गाउँपालिकामा आकांक्षा राखेर राजीनामा तयारीमा छन्।

माओवादी केन्द्रका जिल्ला नेता माधव सापकोटा पार्टीमा टिकटको आकांक्षा राख्ने धेरै शिक्षक रहेको बताउँछन्। एमाले नेता सोम सापकोटाका अनुसार पनि पार्टीमा थुप्रै शिक्षकले उम्मेदवारी दाबी गरेका छन्। जित्न सक्ने सम्भावित शिक्षकलाई दलहरूले राजीनामा दिन भनेका छन्। टिकट पक्का भए तत्काल राजीनामा दिने शिक्षक धेरै छन्। कतिपय शिक्षक राजीनामा गरेर टिकट लबिङ गर्ने तयारीमा छन्।

जिल्लामा एमालेले २०४९ को स्थानीय चुनावमा राजीनामा गराएर अधिकांश शिक्षक मैदानमा उतारेको थियो। २०५४ को अर्को स्थानीय निर्वाचनमा समेत उसले झन्डै २० शिक्षकलाई राजीनामा गराएर चुनाव लडाएको थियो।

प्रकाशित: १ वैशाख २०७४ ०५:०३ शुक्रबार

शिक्षकका आँखा स्थानीय तहमा