राजनीति

कांग्रेसभित्र अन्तर्घात र विद्रोहको रोग

पोखरा चिप्लेढुंगामा बुधबार कांग्रेसको आमसभाका सहभागि । तस्बिरः उमेश पुन

पोखरा– कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र अन्तर्घात र विद्रोहको रोग रहेको बताएका छन् । त्यही अन्तर्घात र विद्रोहको खतराले कांग्रेसलाई पराजयसम्म पु¥याउनसक्ने जोखिम रहेको उनले बताए ।
पोखरामा बुधबार चारनम्बर प्रदेशस्तरीय आमसभामा बोल्दै सभापति देउवाले पार्टीमा रहेर भित्रभित्र अन्तर्घात गर्नेलाई कडा कारवाहि हुने पनि बताए । ‘अनुशासन स्थापित गर्न हामीले चाहेका हौं,’ उनले भने, ‘कतैबाट अन्तर्घात नहोस ।’

स्थानीय तह निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिकाको मेयरका आकांक्षी दिनहुँ बढ्दै गएको थाहा पाएका सभापति देउवाले जिल्लामा अत्यधिक सहमतिमा उम्मेद्वार तोक्नुपर्ने बताए । ‘चुनावमा अत्यधिक सहमति हुनुपर्छ । जिल्ला समितिले उम्म्ेदवारको बारेमा उपयुक्त निर्णय गर्नुपर्छ,’ देउवाले भने, ‘काठमाडौंले सबैतिर गरेर सात–आठसय व्यक्तिबाट छान्न सक्दैन ।’

उम्मेद्वार को उठाउँदा जित्न सकिन्छ भन्ने जिल्लाभित्र थाहा हुने भएकोले जित्नसक्ने व्यक्तिलाई मात्र टिकट दिने उनले बताए । ‘तेरो र मेरो नभनौ । अधिकतम सहमति गरेर जिल्लाले निर्णय लिनुपर्छ,’ देउवाले भने, ‘जसले जितेपनि मैले जितेको हो भन्ने हुनुपर्छ । अहिले टिकट नपाएपनि दोश्रो चुनावमा हामीले हेर्नेछौं ।’

वरिष्ठ नेता पौडेलले पनि जो पायो त्यही व्यक्ति उम्मेद्वार बनेर चुनाव जित्न नसकिने बताए । ‘जसलाई उठाउँदा जित्न सकिन्छ, त्यसमा बिचार गरौं । लगाव र योगदान हेरेर मुल्यांकन गरौ,’ पौडेलले भने, ‘सबै उम्मेद्वार मैले र सभापतिले मात्र हेर्न सक्दैनौ । त्यसैले लगाव हेरेर जिल्लाले निर्णय गर्नुपर्छ ।’ महामन्त्री कोइरालाले स्थानीय तह निर्वाचनमा पछाडि परेको खण्डमा प्रदेश र केन्द्रमा असर पर्ने बताए । उनले पनि बागी उम्मेदवार उठेमा पार्टीले कारवाहि गर्दै निस्कासन गर्नुपर्ने बताए ।

देशलाई बिखण्डनको प्रयास

सभापति देउवाले मधेश र पहाडको कुरा उठाएर देशलाई विखण्डन गर्ने प्रयास भईरहेको बताएका छन् । देश सबैको भएकोले टुक्रयाउने प्रयासलाई चिर्नुपर्ने उनले बताए । देउवाले पहाड र मधेसवादको नाममा देश टुक्रयाउन खोजिएको बताए । ‘पहाडले मधेसीवाद र मधेसले पहाडीवाद भनेर देशलाई विखण्डन गर्न खोजिएको छ । देश सबैको हो, बिखण्डनकारी षडयन्त्रलाई हामीले चिर्नुपर्छ,’ उनले भने, ‘कतैपनि टसमस नभई एकआपसमा मेलमिलाप गरेर समावेशी तरिकाले अधिकार खोज्नेगरि अघि बढ्नुपर्छ ।’
केहीदिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखरामा आजकै ठाउँमा भएको आमसभामा बोल्दै

सबैभन्दा ठुलो सभा भएको र अरु कुनैपनि दलले यस्तो वृहत सभा गर्न नसक्ने चुनौती दिएका थिए । ओलीको त्यही चुनौतीप्रति आक्रोशित हुँदै देउवाले कांग्रेसको आमसभा देखेर ओलीको सातो उड्ने बताए ।
सोही आमसभामा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले हिमाल, पहाड, तराईका मान्छेबीच सद्भाव कायम गर्न कांग्रेसमात्र संंवेदनशील रहेको बताए । एमालेले त्यसमा समस्या खडा गर्न चाहेको उनले बताए । ‘कम्युनिष्ट दुनियाँमा समस्या मात्र जन्माउँछन्, तर, समाधान गर्न सक्दैन,’ पौडेलले भने, ‘एमाले समस्या दिन्छ, समाधान कांग्रेसले गर्नुपरेको छ, ।

मधेसीले चुनाव बिथोल्ने र स्वीकार्ने काम नगरेमा त्यसको परिणाम संघीयता, समावेशी, गणतन्त्र खतरामा पर्ने पौडेलको भनाई छ । ‘सबैलाई खतरामा पारेर हिरो बन्न नखोजे हुन्छ,’ पौडेलले भने, ‘मधेसी नेतासँग हाम्रा पनि केही रिजर्ब कुरा छन् । तीनमा पनि अब बहस हुनुपर्छ ।’ उनले सबै मिलेर निकास दिन नसके सबै दल र नेता नालायक हुने पनि बताए । पौडेलले एमालेमा झुटको र माओवादीसँग शब्दजालको झाडि रहेको पनि बताए ।

पूर्व महामन्त्री कृष्ण सिटौलाले कुनैपनि बहानामा निर्वाचन टार्न र सार्न नमिल्ने बताए । जनतालाई लाठामुंग्रा, खुकुरी देखाएर आफ्नो पक्षमा पार्ने दिन गएको उनले बताए । ‘निर्वाचन जनताका लागि हुन लागेको हो । कुनै विशेष नेता र सामान्तका लागि होइन,’ उनले भने, ‘त्यसैले निर्वाचन बिथोल्नु परिवर्तन नचाहनु हो ।’ महामन्त्री शंशांक कोइरालाले एकजुट भएर निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
गृहमन्त्री समेत रहेका नेता बिमलेन्द्र निधिले एमालेका शीर्ष नेताले संविधान धरापमा पार्न खोजेको आरोप लगाए । पहाड र मधेसलाई फुटाउने प्रयासमा एमाले रहेको उनले बताए । ‘एमालेका शीर्ष नेता नै संविधानमा विश्वास गर्दैेनन्, संघीयता, लोकतन्त्र, गणतन्त्र र निर्वाचन प्रक्रियामा खतरा रहे त्यसमा एमालेको दोहोरो चाल छ,’ उनले भने ।

 

प्रकाशित: ३० चैत्र २०७३ १३:२० बुधबार

कांग्रेसभित्र अन्तर्घात विद्रोहको रोग