राजनीति

टिकट बाँड्न कांग्रेसले केन्द्रीय सदस्य खटाउने

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको टिकट वितरणका लागि केन्द्रीय सदस्य जिल्लामा खटाउने भएको छ। कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार टिकटमा हस्ताक्षर गर्न ७५ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउन लागेको हो। खटिने केन्द्रीय सदस्यलाई पदाधिकारीको हैसियत दिने सो दलले जनाएको छ।

कांग्रेसले कुन जिल्लाका लागि को आधिकारिक हो भन्ने जानकारी र हस्ताक्षर चैत ३० भित्र आयोगमा पठाउने भएको छ।

निर्वाचन आयोगले दलसँग आधिकारिक व्यक्तिको नाम र हस्ताक्षर मागेपछि कांग्रेसले केन्द्रीय सदस्यलाई टिकटमा हस्ताक्षरको अधिकार दिई जिल्ला पठाउने तयारी थालेको छ। यसका लागि कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय सदस्यको हस्ताक्षर संकलन जारी राखेको छ। कांग्रेसले कुन जिल्लाका लागि को आधिकारिक हो भन्ने जानकारी र हस्ताक्षर चैत ३० भित्र आयोगमा पठाउने भएको छ।

'वैशाख १६ गते उम्मेदवार मनोनयन पत्र (टिकट) मा हस्ताक्षर गर्न केन्द्रीय सदस्य पठाउन लागिएको हो,' केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललेे भने, 'निर्वाचन आयोगले टिकटमा हस्ताक्षर गर्न पदाधिकारी वा प्रदेश पदाधिकारी चाहिने भनेकाले जिल्ला पठाइने सबै केन्द्रीय सदस्यलाई पदाधिकारी मनोनयन गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ।'

सात सय ४४ नगर तथा गाउँपालिकाका सबै उम्मेदवारको टिकटमा सभापति शेरबहादुर देउवासहितका पदाधिकारीले हस्ताक्षर गर्न सम्भव नभएपछि केन्द्रीय सदस्यलाई पदाधिकारीको हैसियतमा जिल्ला पठाउन लागिएको हो। 'झन्डै ३७ हजारको टिकटमा सभापतिले मात्र हस्ताक्षर गर्दा २० दिन लाग्ने देखियो,' एक केन्द्रीय नेताले भने, 'पार्टी नेतृत्वको अधिकार सदस्यलाई प्रत्यायोजन गरेर गुटगत भागबन्डाको आधारमा सदस्यलाई जिल्ला पठाउन लागिएको हो।'

संविधानले जिल्लाको अस्तित्व स्वीकार नगरेपछि उम्मेदवार मनोनयनमा देखिने समस्या हटाउन आयोगले आधिकारिक हस्ताक्षर दलहरूसँग मागेको छ। आयोगले सुरुमा चैत २६ भित्र नाम दिन दलहरूलाई पत्राचार गरेको थियो। तर, कांग्रेसहितका दलले थप समय मागेपछि चैत ३० गतेसम्म थपिएको छ।

मुख्य सचिव पौडेलले जिल्ला जानेे नेताको टुंगो ३० गतेभित्र लगाए पनि नाम गोप्य राखिने बताए। नाम सार्वजनिक हुँदा उम्मेदवार छनोटमा असर पर्ने विश्लेषण गरिएको उनको भनाइ छ।

कांग्रेसले उम्मेदवार छनोटको अधिकार जिल्ला तथा क्षेत्रलाई प्रत्यायोजन गरेको छ। जिल्ला वा क्षेत्रीय सभापतिको नेतृत्वमा संयन्त्र गठन गरी सर्वसम्मतिबाट निर्णय लिन परिपत्र भएको छ।

सर्वसम्मतिबाट उम्मेदवार छनोट हुने सम्भावना कम देखिएका बेला टिकटमा हस्ताक्षर गर्न केन्द्रीय नेता खटाउने तयारीपछि उम्मेदवार छनोट कसले गर्ने भनेर अन्योल देखिएको एक नेताले बताए। तर, मुख्य सचिव पौडेलले टिकटमा हस्ताक्षर गर्न मात्र नेता खटाउन लागेको स्पष्ट पारे। 'संसदीय निर्वाचनमा टिकटमा पार्टी सभापतिले हस्ताक्षर गर्नुहुन्थ्यो,' उनले भने, 'अहिले पदाधिकारीको हैसीयतमा केन्द्रीय सदस्यले हस्ताक्षर गर्नुहुन्नेछ।'

प्रकाशित: २९ चैत्र २०७३ ०२:२४ मंगलबार

टिकट बाँड्न कांग्रेसले केन्द्रीय सदस्य खटाउने