राजनीति

पुराना र नयाँ अनुहारसहित रौतहटमा बढ्दैछ चुनावी सरगर्मी

रौतहट– तीन नगरपालिका र १३ गाउँ पालिका रहेको रौतहटमा चुनावी सरगर्मी विस्तारै बढ्दै गएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा निर्वाचनको विरोधमा रहे पनि अन्य पार्टीहरुमा भने आन्तरिक रुपमा निर्वाचनको तयारी भइरहेको छ।

रौतहटको सदरमुकाम रहेको गौर नगरपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रमा उम्मेदवारको लागि लबिङ भइरहेको छ। नेपाली काँग्रेसबाट सजन साह, गौरीशंकर यादव, राजेश साह मेयरको उम्मेदवारका आकांक्षी देखिएका छन्। यादव नगरपालिकाका पूर्व मेयरसमेत हुन्। नेकपा माओवादी केन्द्रबाट राम प्रताप यादव, राजेश साह, चन्देश्वर राउत, सत्यनारायण यादव र अवध बिहारी साहले आन्तरिकरुपमा चुनावको तयारी थालेका छन्।

नेकपा एमालेबाट नवप्रवेशी व्यावसायी शम्भु साहको नाम चर्चामा छ। जिल्लाको मध्यभागमा रहेको व्यापारिक नगरी गरुडा नगरपालिकामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। गत वर्षको मधेस आन्दोलनको केन्द्रविन्दु रहेको गरुडामा तीनवटै प्रमुख पार्टीबाट मेयर बन्ने आकांक्षीको संख्या धेरै रहेको छ। नेपाली काँग्रेसबाट धर्मनाथ प्रसाद जयसवाल, राम भरोसी यादव, रामकृष्ण चौधरी, सुनील यादव, कन्थमणिप्रसाद जयसवाल मेयरका दाबेदार देखिएका छन्। चौधरी पूर्व उपाध्यक्षसमेत हुन्। नेकपा एमालेबाट शेख कलिमुल्लाह, मणिलाल सहनी, वीरेन्द्र यादव, ननिपत सहनी, अशोक यादव लगायत मेयरका आकांक्षी देखिएका छन्। ननिपत सहनी र वीरेन्द्र यादव पूर्व गाविस अध्यक्ष हुन्। नेकपा माओवादी केन्द्रबाट विपिन जयसवाल र चन्देश्वर यादवको नाम चर्चामा रहेको छ ।

चन्द्रपुर नगरपालिकामा भने तुलनात्मकरुपमा निर्वाचनको माहौल तातेको छ। नेपाली काँग्रेसबाट रमेशहरि भटराई, पत्रकार सञ्जय कार्की, रामचन्द्र चौधरी, धनलाल थोकरले मेयरको लागि दाबेदारी प्रस्तुत गर्दै चुनावी प्रचारप्रसार थालेका छन्। नेकपा एमालेबाट भने पूर्व गाविस अध्यक्ष उद्धव रेग्मी, कृष्ण तिमल्सिना, बाबुराम दाहालको दाबी छ। माओवादी केन्द्रबाट भने समीर भटराई, राजु धामी, एकराज थापा र हरि पौडलको नाम चर्चामा रहेको छ।

जिल्लाको तीनवटै नगरपालिकामा राप्रपा नेपाल तथा नयाँशक्ति पार्टीको मेयरको उम्मेदवारको खासै चर्चा चलेको छैन। स्थानीय तहको निर्वाचन हुन गइरहेको भए पनि स्थानीय विकास मन्त्री कमल थापाको पार्टी नगर निर्वाचनमा निकै पछाडि देखिएको छ। दुई गुटमा विभाजित राप्रपाले खासै चर्चित अनुहार पाउने देखिएको छैन। मेयरको टिकट पाए पूर्वप्रधानमन्त्री डा. बाबुराम भटराईको नयाँ शक्तिमा विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्ने आकांक्षीले डा. भटराई केही हप्तामा रौतहट आउने र निर्वाचनको वातावरण बन्ने बताइरहेका छन्।

निर्वाचनको तिथि नजिकिँदै जाँदा मेयरका आकांक्षीहरु भने बढ्दै गएका छन्। तीन ठूला दलमा मेयरका आकांक्षीहरुले पार्टीले टिकट नदिए बागी उम्मेदवारी दिने र पार्टी फेरबदल गर्ने प्रवृत्ति पनि जिल्लामा रहेको छ। निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न स्थानीय तहमा पार्टी परिवर्तनको लहर नै चलेको छ। सद्भावना पार्टीका सहमहासचिव अजय गुप्ताले संविधान संशोधन लगायत मधेसको मुदा सम्बोधन नहुन्जेलसम्म चुनावमा भाग लिनुभन्दा चुनाव नै हुन नदिने बताएका छन्।  

प्रकाशित: २८ चैत्र २०७३ १३:०७ सोमबार

पुराना अनुहारसहित रौतहटमा बढ्दैछ चुनावी सरगर्मी