राजनीति

नागरिकता विधेयकको विपक्षमा छैन,नागरिकता नपाउनुको पीडा मलाई थाहा छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई नेपाली नागरिकले नागरिकता नपाउनुको पीडा राम्रोसंग थाहा भएको बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले नेपाली नागरिकले नागरिकता नपाउनुको पीडा आफूलाई राम्रोसंग थाहा नभएको बताएका हुन्।  

उनले भने,‘नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ। जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाको सन्तानको नागरिकता मेरो र तपाईको जति नै सुनिश्चित छ र हुनुपर्छ।’

नागरिकता विधेयकमा रहेको एकल आमाले सन्तानलाई नागरिकता दिन बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था महिलामाथि विभेदकारी रहेको लामिछानेले बताए ।

‘विधेयक संसदमा आएको भए हामी छलफल गर्थ्यौं । त्यहाँ भएको विभेदका विषयमा हामी कुराकानी गर्थ्यौं,’ उनले भने, ‘गलत बाटोबाट गएको हुनाले विरोध जनाएका हौं।’

त्यस्तै उनले संसद्मामा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम नभएको बताउँदै आफ्नो पार्टीबाट भएको गल्तीमा आत्मआलोचना पनि गरेका छन्।  

प्रकाशित: २५ जेष्ठ २०८० ०७:०३ बिहीबार

नागरिकता विधेयक रवि लामिछाने