राजनीति

आगामी बजेटमा पर्यटन क्षेत्रको विकासमा जोड दिन सांसद कार्कीको सरकारलाई सुझाव

सत्तारुढ नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा जोड दिन सरकारलाई सुझाव दिएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारलाई सो सुझाव दिएका हुन्।

नेता कार्कीले सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा जोड दिए मुलुक १० वर्षमै एशीयाकै सम्पन्न राष्ट्रमा परिणत हुने दावी समेत गरे। उनले सरकारले ल्याएको बजेट सन्तुलित, यथार्थपरक रहेकाले यसबाट मुलुकको निजी क्षेत्रसमेत उत्साहित भएको दावी समेत गरे। कमजोर आर्थिक वृद्धि, बढदो मुद्रास्फिति र उपभोग्य बस्तुको बढदो आयात अहिलेको मुख्य समस्या रहेको औंल्याउँदै नेता कार्कीले यी समस्यालाई समाधान गर्दै आर्थिक विकास गरेर देशलाई स्थायित्वको बाटोतर्फ लैजाने बजेटको लक्ष्य रहेको बताए।

उनले भने, ‘कृषि, उर्जा र पर्यटनलाई बजेटले महत्व दिएको छ। म अर्थमन्त्रीजी र सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु–यो तीन वटा भन्दा अर्को आईटी र कम्प्युटर साईन्सलाई, यसको विकासमा पनि सरकारको ध्यान पुगोस भन्ने म आग्रह गर्न चाहन्छु। यो बजेट ग्राउण्ड रियालिटीमा उभिएको बजेट छ। यो यथार्थपरक छ। सन्तुलित छ। र, यो सरकार निर्माण भईसकेपछि अर्थमन्त्रीजीले यो प्रथम बजेट ल्याउनु भएको छ। र, यो बजेटले ५ वर्षको मार्गचित्र निर्धारण गरेको छ। ५ वर्षमा मुलुक कहाँ पुग्छ? त्यसको बारेमा बजेटले एउटा तस्वीर प्रस्तुत गरेको छ। र, यो बजेटले आम नेपाली नागरिकको भरोसालाई वृद्धि गर्ने काम गरेको छ। यो बजेटले निजी क्षेत्रलाई जो अहिले सशंकित छ। चरम निराशामा छ। तिनीहरुको शंकालाई निवारण गरेको छ। र, उनीहरुलाई उत्साहित बनाएको छ। त्यसैले म यो बजेटको समर्थन गर्न चाहन्छु। यो बजेटले अहिले मुलुकले मेरो बिचारमा तीन वटा गम्भिर समस्या भोगी रहेको छ मुलुकको अर्थतन्त्रले। कमजोर आर्थिक वृद्धि, बढदो मुद्रास्फिति र उपभोग्य बस्तुको बढदो आयात। यी तीन वटा जुन अहिले समस्याको रुपमा रहेका छन। यी समस्यालाई समाधान गर्दै आर्थिक विकास गरेर देशलाई स्थायित्वको बाटोतर्फ आकर्षण गराउने बजेटको लक्ष्य रहेको छ। नेपालमा २००८ सालदेखि बजेट ल्याउने प्रचलन रहेको छ। आइटी र पर्यटनलाई हामीले प्रमुख विकासको केन्द्रमा राख्यौं भनेदेखि हाम्रो देश हामीले आशा गरे अनुसार दश वर्षमा एशियाको सम्पन्न देशको रुपमा हामी विकास गर्न सक्छौं।'

प्रकाशित: २२ जेष्ठ २०८० १२:०७ सोमबार

ज्ञानेन्द्रबहादुर कार्की नेपाली काँग्रेस