राजनीति

कांग्रेसले भन्यो, ‘हुँदैन’

काठमाडौं-सत्तारूढ दल नेपाली कांग्रेसले चुनाव मिति सार्ने मधेसी मोर्चाको प्रस्तावलाई ठाडै अस्वीकार गरेको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस नेताहरूबीच भएको वार्तामा कांग्रेस नेताहरूले मतदाता नामावलीमा नाम थप्न समय दिने मधेसी मोर्चाको प्रस्ताव अस्वीकार गरेका हुन्। 

मतदाता नामावलीमा नाम थप्न समय दिन मोर्चाले राखेको प्रस्ताव वैशाख ३१ गते चुनाव नगराउने षड्यन्त्र भएको भन्दै कांग्रेसले यसलाई अस्वीकार गरेको हो । प्रधानमन्त्री दाहालले सोमबार कांग्रेसका नेता कृष्ण सिटौलासँग अनौपचारिक कुराकानी गरेका थिए । ‘नेपाली कांग्रेस कुनै पनि अवस्थामा वैशाख ३१ गते चुनाव गर्नुपर्छ भन्नेमा दृढ छ । मतदाता नामावलीमा नाम थप्न समय दिनुपर्छ भन्ने माग वैशाख ३१ गते चुनाव नगर्ने षड्यन्त्र हो ।’ प्रधानमन्त्रीसँग भेटेपछि कांग्रेसका नेता सिटौलाले नागरिकसँग भने ‘नेपाली कांग्रेस वैशाख ३१ गते चुनाव हुन नदिने षड्यन्त्र ठाडै अस्वीकार गर्छ ।’

प्रधानमन्त्रीले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि कुराकानी गरेका थिए । मधेसी मोर्चाले मतदाता नामावलीमा छुटेको नाम राख्न समय दिनुपर्ने, निर्वाचनको तिति पर सार्नुपर्ने, निर्वाचन आयोगमा दल दर्ता गर्न छुटेका दलहरूलाई दल दर्ताका लागि  सयम दिनुपर्नेलगायतका माग राखेको छ । मोर्चाले थप माग राखेपछि गत चैत १८ यता सरकार र मधेसी मोर्चाबीच औपचारिक वार्ता हुन सकेको छैन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मधेसी मोर्चाका मागबारे सरकारले सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलसँग सहमति जुटाएर  मधेसी मोर्चासँग वार्ता गर्ने बताए ।

प्रकाशित: २२ चैत्र २०७३ ०१:२२ मंगलबार

कांग्रेसले भन्यो हुँदैन