राजनीति

‘सर्वोच्चले खोस्यो खुसी’

पर्सा बिन्ध्यवासिनी गाउँपालिका परसौनी भाठाका कामिल हासिम मियाँ र उनीकी श्रीमती रमीना खातुन आइतबार जिल्ला प्रशासन कार्यालयअघि नागरिकताका लागि चाहिने कागजातसहित आइपुगेका थिए।

सरकारले जन्मसिद्धका सन्तानलाई नागरिकता बनाउने बाटो खोलिदिएपछि मियाँ दम्पती आफ्ना पाँचजना सन्तानलाई नागरिकता दिलाउन दौडधुप गरिररहे। उमेर पुगिसकेका सन्तानको नागरिकता बन्न नपाउँदा छोराछोरीको भविष्य अन्धकारमा डुबेको हासिम मियाँ बताउछन्। उनका दुई जना छोरा र तीनजना छोरी छन्। आफूलाई बुढेसकालले छोइसक्यो तर नागरिकतानभएर छोराहरूको कमाइ खान नपाएको मियाँको दुःखेसो छ। अझै पनि उनलाई डर छ पाँच सन्तानका नागरिकता नबन्ने हो कि?

‘पढ्न पठायो नागरिकता माग्छन्, सर्टिफिकेटमा नागरिकता चाहियो, गाउँघरमा काम पाइँदैन, गरिबीले विदेश पठाउन खोजें त्यसमा पनि नागरिकता चाहियो। अब ती छोराहरूले के गर्ने कसरी बाँच्ने ? श्रीमान्–श्रीमती नै बहुत चिन्तामा छौं,’ मियाँले भने, ‘नागरिकता नभएर अहिले छोराहरू खेतमा काम गर्दैछन्, न त गाडी चलाउन सक्छन् न त विदेश जान पाउँछन्।’

मियाँले २५ वर्षीया छोरी सविला खातुनको विवाह गरिदिए पनि आमाबुवाको नागरिकता विवादले गर्दा अहिलेसम्म उनका श्रीमान्को नामबाट विवाह दर्ता तथा नागरिकता बन्न सकेको छैन। र्दुइ छोरीको भविष्य पनि अन्योलमै छ।

सरकारले जन्मसिद्धका सन्तानलाई नागरिकता बनाउने बाटो खोलिदिएपछि मियाँ दम्पती आफ्ना पाँचजना सन्तानलाई नागरिकता दिलाउन दौडधुप गरिररहे।

वीरगन्ज–६ का पण्डित पुरुषोत्तम दुवे र उनकी श्रीमती सीमा दुवे पेसाले पुरोहित हुन्। लाठगल्लीको संस्कृत विद्यालयमा पुख्यौली घर भएका पण्डित दुवे आफ्नो उमेर पुगिसकेका सन्तानले समयमा नागरिकता नपाउँदा धेरै नै समस्या झेल्नुपरेको बताउँछन्।

उनका चार सन्तान छन्। सबैको उमेर नागरिकता बनाउने भइसकेको छ तर पनि अहिलेसम्म उनीहरू जन्मदर्ताका आधारमा आफ्नो पढाइलाई निरन्तरता दिँदैछन्। नागरिकता पाउने खबर पाएपछि आफ्ना सन्तान पनि आफूसरह यस देशका नागरिक बन्न पाएपछि पण्डित दुवेमा खुसीयाली आएको थियो। तर सर्वोच्चले त्यो खुसी खोसिदिएका कारण उनी फेरि निरास भएका छन्।

‘जेठी छोरी प्रियंका दुवे २४ वर्षकी भई। उसले बिसिसी कलेजबाट बिबिए गररे घरमै बसेकी छ, बाहिर पढ्न पठाउन सकिरहेको छैन। छोरा पनि २० वर्षको भयो ऊ पनि घरमै बसिरेको छ,’ उनले भने, ‘हामी पुरोहितले कति नै पैसा कमाउँछाै अब सन्तानले कमाउने उमेरमा घरमै थन्केर बसेका छन् ।’

उनले आफू नेपाली भएर पनि आफ्नै देशमा गैरनागरिक भन्नेको कमी नभएको बताउँछन्। आफ्नै देशमा जन्मेहुर्केको प्रमाण भएर पनि भारतीय भन्ने शब्द सुन्दा मन दुःखी हुने गरेको उनले बताए। तर अहिलेको सरकारले आफूजस्तो हजाराैं नागरिकको पीडा बुझिदियो, फेरि सर्वोच्चले खुसी खोसिदियो। अब हाम्रा सन्तान के आधारमा बाँच्ने भन्ने उनले प्रश्न गरे।

पर्साको विन्ध्यवासिनी–२ का विकेश कुमार चौरसिया आइतबार दिनभर जिल्ला प्रशासन कार्यालयमा कागजात लिई भागदौड गरिरहे। आफ्ना बुवा र दाइको नागरिकता भयो तर आफ्नो र सानो भाइको नागरिकता नहुँदा उनी नागरिकता पाउने आशामा छन्। रोकिएको नागरिकता अचानक पाउने खबरले उनी खुसी थिए तर अचानक सर्वाेच्च अदालतले नागरिका विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि उनको कागजात फेरि फाइलमै थन्किएको छ। ‘धेरै गार्‍हो भइरहेछ, मलाई मेरो त आफ्नो नामको सिम पनि छैन, बैंकमा खाता पनि छैन, पढाइमा पनि धेरै गाह्रो भइरहेको छ, नागरिकता नभएर मैले कुनै काम गर्न सकिरहेको छैन,’ उनले भने।

पर्साको विन्ध्यवासिनी–२ का विकेश कुमार चौरसिया आइतबार दिनभर जिल्ला प्रशासन कार्यालयमा कागजात लिई भागदौड गरिरहे।

इन्जिनियरिङमा डिप्लोमा गरिरहेका उनले नागरिकता पाएपछि लोकसेवाको तयारी गर्ने सपना बुनेका छन् तर यता बिहानको खुसी बेलुका रातमा बदलिएपछि नागरिकता पाउने चौरसियाको वर्षाैको आशा फेरि निराशामा परिणत भएको छ। वीरगन्जका गोविन्दकुमार मुरारका छोरी निसा र स्नेहाको नागरिकता लिन आइतबार दिनभर सिडियो कार्यालयमा कागजातको तयारीमा जुटे। छोरीहरूको पढाइमा मुरारकाले कुनै कमी गरेनन्। छोरीहरू शिक्षित भएर पनि नागरिकताविहीन भएकाले जागिर गर्न नसकेको उनको दुखेसो छ।

‘छोरीहरूलाई नेपाल बैंकको ट्रेनिङ गराए, परीक्षाको बेलामा नागरिकता नभएपछि केही हुनै सक्दैन भनेर फारम भर्न पाएनन्, सँगैका साथीहरू अहिले उसका बैंकमा जागिर गर्दैछन्। मेरा छोरीहरू केही गर्न सकेका छैनन्, धेरै अफ्ठेरो भइरहेको छ मेरा बच्चाहरूलाई।’

छोरीहरूलाई उनले वीरगञ्जको ठाकुरराम क्याम्पसमा स्नातक तहसम्म अध्ययन गराए। शिक्षित बनाउँदा पनि ती छोरीहरू आफ्नो शिक्षाको सदुपयोग गर्न नपाउँदा बुवा मुरारका दुःखी छन्। अहिले छोरीहरूलाई विदेश अथवा भारत पठाउँदा पनि नागरिकता नहुँदा जान सकेका छैनन्। तिनीहरू अब आफ्नो भविष्य कसरी के गर्ने भन्ने चिन्ताले मुरारकालाई सताएको छ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ बस्ने निलिसा बर्मा आइतबार बिहानै जिल्ला प्रशासन कार्यालयमा चाहिने कागजातसहित पुगेकी थिइन्। सोमबारदेखि नागरिकता पाउने सुनेपछि उनी घर पर्किन्। बिहान नागरिकता पाउने खुसी दिउँसो सर्वोच्चको खबरले उनलाई दुःखी बनाएको छ। उनले स्नातकोत्तर तह उत्तीर्ण गरेको चार वर्ष भयो। हातमा स्नातकोत्तरको सर्टिफिकेट छ तर नागरिकता नहुँदा रोजगारीको अवसरबाट वञ्चित हुनुपरेको छ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ बस्ने निलिसा बर्मा आइतबार बिहानै जिल्ला प्रशासन कार्यालयमा चाहिने कागजातसहित पुगेकी थिइन्।

नागरिकता नभएसम्म रोजगारीका लागि आवेदनसमेत दिन सक्ने अवस्था छैन। जसका कारण रोजगारी र स्वरोजगार बन्ने थुप्रै अवसर बर्माले गुमाएकी छन्। नेपाली आमाबाबुको सन्तान भएर पनि आफ्नो पहिचान प्राप्त गर्न नसकेको उनी बताउँछिन्।

‘नेपाली भएको प्रमाण बोकेर नागरिकता प्राप्तिका लागि थुप्रै प्रयास गरे। तर स्पष्ट ऐन र नीति बाधक बन्न पुग्यो। २०७० सालदेखि सञ्चार क्षेत्रमा आबद्ध छु। कार्यक्रम प्रस्तोताका रूपमा सञ्चार क्षेत्रमा प्रवेश गरेको एक दशक बितेको छ। हाल म सिमराबाट प्रकाशन हुने अनलाइनमा कार्यरत छु।’

प्रकाशित: २२ जेष्ठ २०८० ०१:५७ सोमबार

पर्सा बिन्ध्यवासिनी गाउँपालिका सर्वोच्चले खोस्यो खुसी