राजनीति

नागरिकता विधेयकलाई खारेज गरेर पुनः संसदमा दर्ता गर्नुपर्छ: सांसद श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले ताजा जनादेश पाएको संसदमा छलफल भएर मात्रै नागरिकता विधेयक प्रमाणिकरण हुनुपर्नेमा त्यसो नभएका कारण आफूहरुको बिरोध रहेको बताएका छन्।

आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले असंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणिकरण गरिएको बताए। यो विधेयकलाई खारेज गरेर पुनः संसदमा दर्ता गर्नुपर्ने उनको भनाइ थियो। 

उनले भने ‘विधिको शासनमा जुन सदनमा उत्पत्ति भएको विधेयक थियो त्यो पो अहिलेको ताजा जनादेश पाएकोले प्रमाणिकरण गर्ने हो त। यो त पहिलाको हो। यो कहाँ आकर्षित हुन्छ भन्दा संविधानको धारा ११३ आकर्षित हुन्छ। तर यो पालि राष्ट्रपति कार्यालयको पत्र पढ्नुभयो भने ६१ को २,३, ४ र ६६ बाट टेकेर गरेको छ। यो असंवैधानिक कदम हो। यसलाई ट्रयाक करेक्ट गर्ने हो भने यो खारेज भएर संसदमा भोलि नै दर्ता गरिदिनुस्। बरु फास्ट ट्रयाकमा लगौँ। विगतमा दुई पटक संसदले पठाएको प्रमाणिकरण नगर्नु असंवैधानिक थियो। र अहिले प्रमाणिकरण गर्नुपनि असंवैधानिक। भारत पक्षबाट आएको र नेपाल पक्ष बाट आएको जानकारीको तादाम्यता मिलेन। गहिरो चिन्ता छ। प्रधानमन्त्रीले स्पष्टिकरण दिनुपर्‍यो।’

प्रकाशित: २१ जेष्ठ २०८० ११:१६ आइतबार

विराजभक्त श्रेष्ठ