राजनीति

निर्वाचनका लागि मतदाता शिक्षाको तयारी तिव्र

खोटाङ – स्थानीय निर्वाचनको मिति नजिकिएसँगै खोटाङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी तिव्र पारिएको छ । आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर मतदाता शिक्षा समन्वय समितिले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको हो । निर्वाचनको तयारी भइरहेपनि मतदाता शिक्षामा ढिलाइभइरहेको गुनासो आइरहेकाबेलामा समन्वय समितिको शुक्रबार बसेको बैठकले मतदाता शिक्षाको तयारी तिब्र पार्ने निर्णय गरेको हो । 
मतदाताको निर्वाचनमा सहभागिताका लागि उत्प्रेरित गर्दै स्थानीय तहको निर्वाचनलाई सफल बनाउन चैत्र २७ गतेभित्रमा जिल्ला समन्वय समिति अन्तर्गतका हरेक गाउँपालिका र नगरपालिकामा कार्यरत सामाजिक परिचालक तथा गाउँपालिका र नगरपालिकाका कार्यकारी अधिकृत÷निमित्त कार्यकारी अधिकृत, निर्वाचन अधिकृतको कार्यालयका लेखा तथा जिन्सी हेर्ने कर्मचारीलाई सहभागी गराएर मतदाता शिक्षा दिइने जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । सुरुमा गाउँपालिका र नगरपालिकाका कर्मचारीलाई मतदाता शिक्षाको विषयमा बुझाएर उनीहरुमार्फत गाउँ–गाउँका सर्वसाधारणलाई मतदाता शिक्षा बुझाउने लक्ष्य राखिएको निर्वाचन कार्यालयले जनाएको छ । 
मतदाता शिक्षा अन्तर्गत प्रतेक मतदाताको घरमा पुगेर निर्वाचनका लागि तयार रहन आग्रह गर्ने, सही मतदान गर्ने विधिका बारेमा जानकारी दिने, प्रत्येक मतदातालाई निर्वाचनमा सहभागिताका लागि उत्पे्ररित गर्ने, पर्चा, पोष्टरहरु वितरण गर्ने लगायतका काम सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी खत्रीले बताए । जिल्लाका १ लाख १५ हजार ६४२ मतदाताले निर्वाचनमा सहभागिता जनाउँदैछन् । 
जिल्लामा निर्वाचनको पर्ययवेक्षकका लागि आवेदन लिने काम समेत धमाधम भइरहेको छ । 

 

प्रकाशित: २० चैत्र २०७३ ०६:२४ आइतबार

निर्वाचनका लागि मतदाता शिक्षाको तयारी तिव्र