राजनीति

सबैदल मिलेर आएपनि एमाले एक्लै भिड्छ: ओली

पोखरा- एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैको घरमा झगडा पर्‍यो भन्दैमा स्थानीय तह निर्वाचन नरोकिने बताएका छन्। घरको झगडा देशमा देखाएर निर्वाचन भाड्न नपाइने उनको तर्क छ।

पोखरामा शुक्रबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचन हुन दिन्नौ भनेर कुद्नुको कुनै अर्थ नरहेको बताए। ‘स्थानीय तह १५ वर्षदेखि नेतृत्वविहीन छ । करिब दुईदशकदेखि निर्वाचन भएको छैन,’ ओलीले भने, ‘बल्लतल्ल अहिले निर्वाचन घोषणा भएको छ । तर केही दल निर्वाचन हुन दिन्नौ भनेर कुदिरहेका छन् । त्यसमा कुनै तुक छैन।’

‘उनीहरुको घरमा (दलभित्र) झगडा पर्‍यो कि क्या हो, त्यही भएर निर्वाचन हुन दिन्नौ भनेका छन,’ ओलीले भने, ‘घरको झगडा देशमा नदेखाउ । अब कसैले रोकेर निर्वाचन रोकिन्न ।’

‘उनीहरुको घरमा (दलभित्र) झगडा पर्‍यो कि क्या हो, त्यही भएर निर्वाचन हुन दिन्नौ भनेका छन,’ ओलीले भने, ‘घरको झगडा देशमा नदेखाउ । अब कसैले रोकेर निर्वाचन रोकिन्न ।’ एमाले कुनैपनि दलसँग निर्वाचन लड्न पछि नहट्ने उनले बताए । ‘अरु सबै दल मिलेर आएपनि एमाले उनीहरुसँग निर्वाचनमा एक्लै भिड्छ,’ उनले भने, ‘एमाले कसैप्रति पनि बैरभाव राख्दैन । स्वस्थ ढंगले प्रतिश्पर्धा गर्न तयार छ ।’ निर्वाचनमा एमालेलाई हराउने बारेमा अन्य राजनीतिक दलका केन्द्रीय समितिमा छलफल चलिरहेको उनले दावी गरे ।

निर्वाचनको माहोल एमालेतिर बढिरहेको देखेपछि अवरोध गर्न सुरु भएको उनले दावी गरे । ‘यतिबेला एमालेलाई अवरोध गर्ने काम भईरहेको छ । जनतालाई असुविधा दिने, आक्रमण गर्ने, एमाले कार्यकर्ताका पुस्तौनी घर तोडफोड गर्ने काम भएका छन्,’ ओलीले भने, ‘एमाले कार्यकर्ताका घर जलाईरहने, कार्यकर्तामाथि आक्रमण भईरहे एमाले चुप लागेर बस्नेछैन ।’ उनले जस्तोसुकै राजनीतिक प्रतिश्पर्धा पनि स्वीकार्य रहेको बताए । ‘राजनीतिका नाममा हामी अपराध सहँदैनौं,’ उनले भने, ‘सरकारमा बसेर मान्छे मार्ने, अनि आरोप एमालेलाई लगाउने काम भएको छ।’

स्थानीय तहको निर्वाचनपछि देशले विकासमा फड्को मार्ने उनले दावी गरे। ‘महानगरपालिकालाई साच्चै महानगरपालिका बनाउँछौं । गाउँ र नगर छुट्याउन नसक्ने गरि विकास हुनेछ,’ उनले भने, ‘मुलुकको विकास गर्ने तरिका एमालेलाई थाहा छ ।’ विकासका लागि उत्तरी छिमेकी चीनसँगका नाका खोल्ने उनले बताए।

केही राजनीतिक दल संविधान संशोधनको घिट्किसो कसेर लम्पसार परेको उनले आरोप लगाए। ‘संविधान संशोधन नै नहुने होइन, तर कसैको निर्देशनमा नेपालको हितमा नोक्सान हुनेगरि र नेपाललाई कमजोर बनाउन संशोधन हुन सक्दैन,’ ओलीले भने । अध्यक्ष ओलीले देशको चिन्ता एमाले बाहेक कुनै दललाई नरहेको बताए।

‘केहीवर्ष अघि सम्म नेपाली कांग्रेस पनि देशको बारेमा सोच्ने पार्टी थियो । तर, अहिले बुढो बाह्रसिंगे भयो,’ उनले भने, ‘कांग्रेसको सिङ झाडिमा अल्झेको छ। के गर्नुपर्छ भन्ने नै यतिबेला कांग्रेसलाई थाहा छैन।’प्रहरी प्रमुख, अख्तियार प्रमुख नियुक्त गर्न नसकेको भन्दै ओलीले सरकारको आलोचना गरे।

 

प्रकाशित: १८ चैत्र २०७३ ११:४७ शुक्रबार

सबैदल मिलेर आएपनि एमाले एक्लै भिड्छ ओली