राजनीति

दोलखाको 'भीमेश्वर नगर'मा मेयरका आकांक्षीहरु

दोलखा- ९ गाउँ र २ नगरपालिका रहेको दोलखाको सबैभन्दा ठूलो भीमेश्वर नगरपालिकाको नेतृत्वमा पुग्न दलभित्र आकांक्षीहरुको अत्याधिक दौडधुप देखिएको छ। जिल्ला प्रवेश गर्ने मुख्य केन्द्र, सदरमुकाम चरिकोटसहितका ठूला बजार जोडिएको र पर्यटकीय गन्तव्यसहित अपार प्राकृतिक स्रोत रहेका कारण प्रभावशाली मानिएको भीमेश्वर नगरको मेयर र उपमेयरको टिकट लिन आकांक्षीहरु आन्तरिक पार्टीभित्र लबिङमा ब्यस्त छन्।

एमालेमा मेयरका लागि भरत केसी र राजेन्द्र मानन्धरको चर्चा छ। एमाले जिल्ला कमिटीले सामाजिक सञ्जाल साथै कुनै पनि माध्यमबाट उम्मेदवारी घोषणा नगर्न सर्कुलर जारी गरेका कारण उनीहरुले आफ्नो उम्मेदवारीबारे केही बोलेका छैनन्।

चरिकोटसहित वरपरका बजार, बस्ती, चोक चियापसल र गैँडामा नगरको भावी मेयरबारे मानिसहरु चर्चा गरिरहेका भेटिन्छन्। ९ वटा वडा रहेको भीमेश्वरमा करिब २२ हजार मतदाता छन्।

मेयरको उम्मेदवारका रुपमा कांग्रेसभित्र जिल्ला नेता ईश्वरनारायण मानन्धरको अत्याधिक चर्चा छ। भीमेश्वर नगरपालिका १० का मानन्धर गतवर्ष सम्पन्न पार्टी जिल्ला अधिवेशनमा सभापतिका प्रत्याशी थिए। नगरभित्रको संगठनमा पकड रहेका मानन्धर बाहिरी जनमतमासमेत उतिकै लोकप्रिय छन्।

नगरका अधिकांश वडामा विकास निर्माणका काममा उनले गरेको सहयोग साथै स्थानीय तह पुर्नसंरचना पछि थपिएका साविकका गाविसहरु बोच, सुष्पा क्षमावती र लाकुरीडाँडामा समेत मानन्धरको लोकप्रियता अत्याधिक रहेका कारण उनलाई जसरी पनि उठाउने तयारीमा पार्टीको जिल्ला तहका शीर्ष नेताहरु र सिङ्गो जिल्ला नेतृत्व लागिपरेको छ।

नगरका अधिकांश वडामा रहेका नेवार समुदायभित्र उनको सुमधुर सम्बधले समेत उनलाई जित्न सहज हुने आँकलन नेता कार्यकर्ताको छ। नेपाली कांग्रेसको केन्द्रीय तहमा सहित दोलखाको संगठनभित्र लोकप्रिय रहेपनि उनको ब्यक्तिगत स्वभावबारे भने कतिपय कार्यकर्ताहरु आलोचना गर्छन्।

मानन्धर नउठेमा उनको विकल्पमा आकांक्षा राख्नेहरु भने थुप्रै भेटिन्छन्। तर जसरी पनि उनलाई नै उठाई छाड्ने नेताहरुको तयारीका कारण उनको विकल्पका उम्मेदवार बारे कांग्रेसका नेता वृत्तमा अरुको त्यति चर्चा सुनिन छाडेको छ। कांग्रेसबाट उपमेयरमा रुपा श्रेष्ठ, मोती मोक्तान, सखना थापा, भगवती शाही, ज्ञानु केसी लगायतका आकांक्षीहरु देखिन्छन्।

त्यस्तै एमालेमा मेयरका लागि भरत केसी र राजेन्द्र मानन्धरको चर्चा छ। एमाले जिल्ला कमिटीले सामाजिक सञ्जाल साथै कुनै पनि माध्यमबाट उम्मेदवारी घोषणा नगर्न सर्कुलर जारी गरेका कारण उनीहरुले आफ्नो उम्मेदवारीबारे केही बोलेका छैनन्। तर पार्टीभित्र उनीहरु लबिङमा ब्यस्त छन्।

कानुन ब्यवसाय पृष्ठभूमीका केसी लामो समयदेखि निरन्तर पार्टीको जिल्ला कमिटीमा बसेर काम गर्दै आएका छन्। नगर क्षेत्रको संगठनभित्र लोकप्रिय रहेका केसी पार्टीमा निरन्तर लागिपरे पनि संगठन निर्माणको योगदानमा कमी रहेको र उनको व्यक्तिगत स्वभावसँग दाँजेर कतिपय कार्यकर्ताहरु आलोचना गर्छन्।

पत्रकारिता पृष्ठभूमीका मानन्धर पत्रकारितामा आउनुअघि अखिलको जिल्ला अध्यक्ष हुँदै पार्टी भीमेश्वर नगर कमिटीको संस्थापक प्रमुख थिए। पत्रकार महासंघ दोलखाको २ पटक जिल्ला अध्यक्ष चलाएका मानन्धरलाई कार्यकर्ताहरु केसीभन्दा सामाजिक रुपमा बढी लोकप्रिय रहेको आँकलन गर्छन्। तर पार्टी संगठनमा निरन्तर नरहेका कारण उनले टिकट नपाउने कतिपयको तर्क छ।

मानन्धर र केसीसँगै हरिवंश चौलागाईको समेत चर्चा छ। यसअघि पार्टीको नगर कमिटी अध्यक्षका रुपमा काम गरेका चौलागाईले नगरको आन्तरिक संगठन निर्माणमा योगदान गरेका थिए। संगठनभित्र लोकप्रिय रहेका उनको पक्षमा जिल्लास्थित शीर्ष तहका केही नेता देखिएपनि बाहिरी र सामाजिक लोकप्रियता कम रहेका कारण टिकट पाउनेमा कार्यकर्ताहरुको एउटा ठूलो पंक्ति विश्वस्त देखिँदैन। यिनीहरुको विकल्पमा अन्य उम्मेदवारहरु देखिन्छन तर तिनको चर्चा असाध्यै कम छ।

एमालेको जिल्ला स्तरबाट भीमेश्वर नगरपालिकाको मेयरको टिकट बाँडफाडबारे सहमति हुन सकेमा भरत केसीले सहजरुपमा टिकट हात पार्ने बिश्लेषण कतिपय कार्यकर्ताको छ। तर जिल्ला तहबाट टुंगिनसक्ने सम्भावना अत्यन्तै कम देखेका थुप्रै कार्यकर्ताहरु जिल्लाबाट प्रदेश कमिटीमा सिफारिस हुँदा सामाजिक लोकप्रियता, माथिल्लो तहमा पहुँच लगायत विभिन्न कारणले मानन्धरले टिकट ल्याउने लख काट्ने गरेका छन्। एमालेबाट उपप्रमुखमा कमला ओली, सिता केसी, कमला बस्नेत, राधा मास्केको पनि चर्चा हुने गरेका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट मेयरका लागि पूर्वसभासद हेम श्रेष्ठको अत्याधिक चर्चा छ। दोलखा बजारका श्रेष्ठ २०६४ को संविधान सभा निर्वाचनमा निर्वाचित सभासद हुन्। पूर्वसांसद हुँदा गरेको काम र दोलखा बजारसहित सबै वडामा देखिएको लोकप्रियताका कारण उनलाई पार्टीले टिकट दिने चर्चा जिल्ला नेतृत्वभित्र छ। श्रेष्ठको विकल्पमा अरु पनि आकांक्षी भेटिएपनि चर्चा कम छ। महिला आकांक्षीहरु मिलाउने काम भइरहेको जिल्ला पार्टीले जनाएको छ।

प्रकाशित: १८ चैत्र २०७३ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App