राजनीति

वीपी प्रतिष्ठानका पुर्वउपकुलपति दाससहित तीन जना भ्रष्टचारी ठहर

पुर्वरजिष्ट्रार, व्यापारीसहित पाँच जनालाई भने सफाई

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तीन जना पुर्वपदाधिकारीहरु भ्रष्टचारी ठहर भएका छन्।

विशेष अदालतका न्यायाधिशद्धय बलभद्र बास्तोला र डा.खुशीप्रसाद थारुको इजलाशले प्रतिष्ठानका पुर्वउपकुलपति प्रा.डा. बलभद्रप्रसाद (वीपी) दास, अस्पताल निर्देशक प्रा.डा.अरबिन्द सिन्वा र पुर्वरजिष्ट्रार नन्दकुमार थापाले भ्रष्टचार गरेको ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो।

विशेष अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार बिहिबार जनही १ वर्ष कैद र २५ हजार जरिवाना हुने फैसला भएको छ। उनले भने,‘तीन जनालाई कैद र जरिवानाको फैसला भएको छ। अन्य ५ जनाले भने सफाई पाएका छन्।’

कैद र जरिवानाको फैसला भएकाहरुले फैसला आइसकेपछि सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कानुनी बाटो भने खुला रहेको पनि प्रवक्ता योगीले बताए। प्रवक्ता योगीका अनुसार भ्रष्टचार मुद्दामा सफाई पाउनेमा प्रतिष्ठानका पुर्वरजिष्ट्रार तुलबहादुर श्रेष्ठ, डेपुटी रजिष्ट्रार अमित श्रीवास्तव, प्रतिष्ठानका लेखाका कर्मचारी निदेशराज दाहाल, व्यापारीहरु चेतन अग्रवाल र उमेशकुमार अग्रवाल छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ असार ३० गते पुर्वपदाधिकारीहरुसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरेको थियो। अख्तियारले विभिन्न मितीमा बस्तु तथा सेवा खरिदबारे छानबिन तथा अनुसन्धान गर्दा खरिदमा भ्रष्टचार गरेको दाबीसहित आरोप पत्र दायर गरेको थियो। अख्तियारले करिब १६ करोडको विगोसहित आरोपपत्र दायर गरेको थियो। अख्तियारले पुर्वउपकुलपति डा.दासविरुद्ध मात्र ४ करोड ८ लाख ९८ हजार १९ रुपैया भ्रष्टचारको आरोपमा मुद्दा दायर गरेको थियो। यसबाहेक डा.दास र उनकी श्रीमतिविरुद्ध पनि साढे ७ करोडभन्दा बढी अवैध सम्पत्ति कमाएको भन्दै अख्तियारले विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ। उक्त मुद्दा विचाराधिन अवस्थामा रहेको छ। 

यस्तै, पुर्वअस्पताल निर्देशक डा.सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६ सय १९ रुपैया, पुर्वरजिष्ट्रार थापाले १ करोड ९६ लाख ९ हजार ८ सय रुपैया भ्रष्टचार गरेको आरोप पत्र दायर भएको थियो।

प्रकाशित: १९ जेष्ठ २०८० ०९:१५ शुक्रबार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रा.डा. बलभद्रप्रसाद