चितवन- भरतपुर महानगरपालिकाको नेतृत्व गर्न चाहने आकांक्षीको लामै सूची देखिएको छ। मुख्य दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सम्भावित मेयर उम्मेदवार छनोटको तयारी हुन थालेको छ।
चितवनको कुल जनसंख्या र मतदातामध्ये भरतपुर महानगरपालिकामा आधा जनसंख्या र मतदाता छन्। त्यसैले महानगरमा उम्मेदवार बन्न चाहनहरू धेरै छन्। चर्चामा आएका व्यक्तिले पनि आफूहरूलाई मेयर अर्थात् महानगर प्रमुखको उम्मेदवारका रूपमा चिनाउने गरेका छन्। कांग्रेस र एमालेभित्र उम्मेदवारका आकांक्षी धेरै छन्।
नेपाली कांग्रेसभित्र पार्टीका पुरानादेखि युवा नेतासम्मको नाम चर्चामा छ। जिल्ला पञ्चायतको सभापतिसमेत भइसकेका पार्टीका पूर्वजिल्ला सभापति टेकप्रसाद गुरुङदेखि विद्यार्थी राजनीति गर्दै गरेका राजेन्द्र डोटेल र नेपाल दलित संघकी शान्ति परियारसम्मको नाम मेयर उम्मेदवारका रूपमा चर्चामा छ। स्थानीय नेताहरू भित्रभित्रै आफ्नो पक्षमा लबिङ गरिरहेका छन्।
'मेरो व्यक्तिगत चाहना त केही छैन तर साथीहरू आएर घेरा हालेका छन्। कि मेयरमा उठ् नभए पार्टी छोड् भन्नेसम्मका कुराहरू गरेका छन्', कांग्रेसबाट मेयर उम्मेदवारका रूपमा चर्चामा आएका पार्टीका पूर्वजिल्ला सभापति टेकप्रसाद गुरुङले भने।
मेयर पदका लागि २०४९ सालमा तत्कालीन भरतपुर नगरपालिकाको उपमेयरमा निर्वाचित जगन्नाथ पौडेल, दीर्घमान श्रेष्ठ, विजय भुसाल, शंकर कँडेल, सूर्यकान्त घिमिरे, दिनेश कोइराला, सुबोध प्रधान, उत्तम चुकेलगायतको नाम चर्चामा छ। 'भरतपुर भनेको लगभग पूरै चितवन जिल्ला हो। यसलाई चलाउने मेयर पनि सशक्त हुनुपर्छ। जिम्मेवारी पाए पूरा गर्न तयार छु', दीर्घमान श्रेष्ठले भने।
जिल्ला पार्टीको पदाधिकारी भएका कारण आफ्नो ध्यान पार्टीलाई विजयी बनाउनमै केन्द्रित हुने र परिआएमा भरतपुरको नेतृत्व लिन पनि तयार रहेको शंकर कँडेलले बताए। उनी चितवन कांग्रेसका कोषाध्यक्ष हुन्। मेयर पदको चर्चा चल्दै गर्दा उपमेयरमा भने कांग्रेसभित्र खासै चर्चा छैन।
स्थानीय तहको उम्मेदवार तय गर्दा प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने प्रवधान छ। मेयरमा पुरुष आकांक्षी हुँदा उपमेयरमा महिला आउने आँकलन छ। चितवन क्षेत्र नं. ४ की कांग्रेस सभापति सरिता केसीलाई उपमेयरको उम्मेदवारका रूपमा हेरिएको छ। तर, केसी आफू मेयरभन्दा तल्लो पदमा नउठ्ने बताउँछिन्। 'पाए मेयरमै उठ्ने हो। नभए महिलालाई दिन भनेर बाध्यताले तोकेको पदमा उम्मेदवार हुन जान्नँ', केसीले भनिन्।
०६२/६३ को जनआन्दोलनका बेलामा पार्टीका तर्फबाट नेतृत्व गरेको, दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई चितवन क्षेत्र नं. ४ बाट जिताउन भूमिका खेलेकोलगायतका योगदानका आधारमा आफूले मेयरमा उठ्ने चाहना राखेको विजय भुसालले बताए। 'हाम्रो पार्टीभित्र आकांक्षीहरू धेरै हुनुहुन्छ। पार्टीले सबै कुरा बुझेर जिम्मेवारी दिन्छ। हामी साथीहरूको व्यक्तिगत चाहना, विभिन्न समितिको रायसुझाव र निर्णय तथा केन्द्रले तोकेको मापदण्डलाई आधार मानेर निर्णय गर्छौं', कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले भने। केन्द्रीय समितिले वैशाख ७ भित्र उम्मेदवार तोक्न भनेका कारण सोही मितिभित्र उम्मेदवार तोक्ने पनि उनले बताए।
एमालेभित्र पनि पार्टी पूर्वप्रमुखदेखि नयाँ पुस्तासम्मले मेयर पदमा उठ्ने चासो देखाएका छन्। मेयर उम्मेदवारमा पूर्वसचिवहरू विजय सुवेदी र देवी ज्ञवालीको नाम चर्चामा छ। ज्ञवाली २०५४ सालको स्थानीय चुनावमा उपमेयरमा निर्वाचित भएका थिए।
पार्टीगत राजनीतिमा खासै नदेखिए पनि एमालेमा राम्रो पकड राख्ने युवा व्यक्तित्व घनश्याम भट्टराईसमेत मेयर पदको दौडमा छन्। 'पार्टीले जे निर्णय गर्छ स्वीकार गर्छु। तर, भरतपुरजस्तो महŒवपूर्ण महानगरपालिकालाई हाँक्ने क्षमता मसँग छ', भट्टराईले भने। उनी हाल लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी टु नेपालका प्रमुख अर्थात् डिस्ट्रक गभर्नरसमेत हुन्।
पार्टीका वर्तमान सचिव तेजेन्द्र खड्कालाई पनि मेयर उम्मेदवारका रूपमा हेरिएको छ। उनी २०५४ सालमा भरतपुर वडा नं. ११ मा वडाध्यक्षमा विजयी भएका थिए। मेयरमा कृष्ण भूर्तेल, अरुणपीडित भण्डारी, कृष्णराज न्यौपानेको नाम पनि चर्चामा छ। एमालेभित्र पनि उपमेयरका आकांक्षीहरू खासै देखिएका छैनन्। पार्वती रावललाई उपमेयरका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ। उनी एमालेको जिल्ला कमिटी सचिव हुन्। तर, रावल पनि पार्टीले मेयरको जिम्मेवारी नदिए अरूमा नउठ्ने धारणा राख्छिन्। 'मेयरमा दिने/नदिने पार्टीको कुरा हो। महानगरको मेयर–उपमेयर केन्द्रले नै तोक्छ। मेयर नभए उपमेयरमा रुचि छैन', रावलले भनिन्।
माओवादी केन्द्रमा भने उम्मेदवारका आकांक्षी हालसम्म देखिएका छैनन्। 'हामी चैत २० गतेसम्म आन्तरिक संगठन निर्माणमै व्यस्त छौं। अहिले नै उम्मेदवारको चर्चा हाम्रो पार्टीमा खासै चलेको छैन। चले पनि चैत २० पछि सुरु होला', माओवादी केन्द्रका चितवन संयोजक यमबहादुर परियारले भने। महानगरमा पार्टीको अवस्था निर्क्यौल गरेर मात्रै माओवादीले उम्मेदवार अघि सार्ने भएको छ। अहिले भरतपुर महानगरपालिकाभित्र परेका साबिकका तीन गाविस पटिहानी, जगतपुर र शुक्रनगरमा २०४९ सालमा चुनाव जितेका आधारमा माओवादीले आफूलाई कमजोर ठानेको छैन। पार्टी नेताहरू नारायण दाहाल, सूर्य सुवेदी पथिक मेयर उम्मेदवारका रूपमा चर्चामा छन्। 'म उम्मेदवारको दौडमा छैन। मेरो जिम्मेवारी चितवनसहित तीन जिल्ला रहेकाले भरतपुरका विषयमा केही सोचेको छैन', माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका पथिकले भने।
राष्ट्रिय प्रजातन्त्र पार्टीको ठूलो जनाधार नभएका कारण अहिले नै यस विषयमा कुरा अगाडि नबढेको जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले बताए। २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा दुई लाख ८० हजार जनसंख्या छ। चितवनको कुल जनसंख्या पाँच लाख ७९ हजार हो। त्यस्तै जिल्लाभर कुल मतदाता संख्या तीन लाख १५ हजार नौ सय ३७ रहेकोमा भरतपुरमा एक लाख ५१ हजार छन्। पाँच निर्वाचन क्षेत्र रहेको चितवनको भरतपुर महानगरपालिकामा क्षेत्र नं. ४ पूरै र तीन र पाँचको धेरै भाग परेको छ।
प्रकाशित: १७ चैत्र २०७३ ०३:२९ बिहीबार