राजनीति

आफूमाथि भ्रष्टाचारको अनुसन्धान गर्न खनालको चुनौती

फाइल तस्वीर

पूर्व प्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारको अनुसन्धान आफैंबाट गर्न माग गरेका छन्। खनाललाई आफ्नै नामको प्रतिष्ठानबाट भ्रष्टाचार गरेको आरोप लगाएपछि उनले यस्तो माग गरेका हुन्।

अख्तियार लगायतका विभिन्न निकायबाट छानविन गर्नुपर्ने उनको माग थियो। काठमाडौंमा मंगलबार उनीमाथि आक्रमण भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै सर्पदंशबाट बचाउनका लागि आफ्नो नामबाट खोलिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नो कुनै संलग्नता नभएको बताउँदै आफ्नो छानबिन गर्न चुनौती दिएका छन्।

पूर्व प्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारको अनुसन्धान आफैंबाट गर्न माग गरेका छन्।

‘सर्पदंशबाट बचाउन भेनम उत्पादन गर्ने भनेर परियोजना अघि बढाइएको छ। यसमा मेरो कुनै संलग्नता भेटियो, एक पैसा, एक लाल मात्रै दुरूपयोग भएको छ भने म अहिले नै हतकडी लगाउन तयार छु,’ खनालले भने। यो विषयमा चुनौती दिँदै भ्रष्टाचार निवारण गर्ने आफ्नो अभियान रहेको बताउँदै यदि त्यस्तो भए आफैंबाट छानबिन गर्न र पुष्टि भए हत्कडी लगाउन तयार भएको समेत बताए।

‘म चुनौतीका साथ भन्छु, यो देशका अख्तियार दुरूपयोग अनुसन्धान आयोग र अरू निकायहरूलाई पनि भन्न चाहन्छु, मेरो छानबिन गर्नुस्, देशमा भ्रष्टाचार निवारण गर्ने हो भने झलनाथ खनालबाट छानबिन सुरु गर्नुस्,’ पूर्व प्रधानमन्त्री खनालले भने।

पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री खनालले २०७० सालमा चुनाव प्रचारका क्रममा सर्लाहीमा सर्पले डसेर मृत्यु भएको बालकको घरमा पुगेको र त्यही पीडाबाट विक्षिप्त भएर पार्टीकै नेताहरूले भेनम उत्पादन गर्ने परियोजना अघि बढाएको तर त्यसमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नभएको बताएका थिए। ‘६० वर्षे राजनीतिक जीवनमा आफूले आपराधिक सोच पलाएको छैन, परियोजनाको नाम राख्न स्वीकृति दिँदा मलाई भ्रष्टाचारी भनियो। यसको छानवीन होस्,’ उनले भने।

उनले अहिले गणतन्त्र र गणतन्त्रका लागि लड्ने नेताहरूलाई बदनाम गर्न अभियान नै सुरु भएको बताउँदै त्यस्ता व्यक्तिले विभिन्न कार्यक्रमलाई बिथोल्ने क्रियाकलाप हुन थालेको समेत दाबी गरे।

‘म पनि एउटा कार्यक्रममा गएँ। त्यहाँ वामपन्थी नेताहरू भेला हुँदै छन् भनिएको थियो। म जाँदा कार्यक्रमको रूप अलि भिन्दै रहेछ। भिन्दै ढंगले सञ्चालन गर्ने कोसिस गरियो, जुन कुरासँग म सहमत छैन। तर, जेसुकै भए पनि कार्यक्रममा केही मान्छेहरूले बोल्न मागे, बोल्न दिइयो। बोल्ने क्रममा तथानाम गाली गरे। मैले यस्तो बोलियो भनेर भन्न पनि नमिल्ने छारस्ट कुराहरू भए। सबै पार्टीविरुद्ध, नेताविरुद्ध, विशेषगरी मेराविरुद्ध। मलाई विभिन्न आरोप लगाए। यस्तो बोल्न पाइँदैन भन्दा त गुण्डा ग्याङ नै आएको रहेछ। त्यो ग्याङले नारा लगाउन थाल्यो। विभिन्न ढंगले ‘फलाना चोर देश छोड’ भनेर नाराहरू लगाइयो,’ उनले भने।

पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री खनालले २०७० सालमा चुनाव प्रचारका क्रममा सर्लाहीमा सर्पले डसेर मृत्यु भएको बालकको घरमा पुगेको र त्यही पीडाबाट विक्षिप्त भएर पार्टीकै नेताहरूले भेनम उत्पादन गर्ने परियोजना अघि बढाएको तर त्यसमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नभएको बताएका थिए।

पूर्व प्रधानमन्त्री खनालले पञ्चायत कालमा पनि यस्तै हुने गरेको स्मरण गरे। ‘हिजो पञ्चायत कालमा लोकतन्त्रका लागि, राष्ट्रियताका लागि, न्यायका लागि लड्नेहरूविरुद्ध त्यतिबेलाका मण्डलेहरू आक्रमण गर्थे। तिनै मण्डलेहरू ब्युँताउन कोसिस भएको छ,’ उनले भने, ‘ज्ञानेन्द्र राजा जिन्दावाद भन्छन् एकातिर, अर्कोतिर लोकतन्त्रविरुद्ध लड्ने योद्धाविरुद्ध तथानाम गर्छन्। मैले केही दिनअघि राजा ज्ञानेन्द्रलाई, अहिले त राजा भन्न मिलेन, भूतपूर्व राजा ज्ञानेन्द्र, अहिलेको ज्ञानेन्द्र शाहलाई, जो अहिले विभिन्न क्षेत्रमा अनेक राजनीतिक गतिविधि गर्दै छन्, यस प्रकारले समाजमा भाँडभैलो मच्चाउन कोसिस गर्नुभन्दा राप्रपा भन्ने पार्टी छ, त्यसको अध्यक्ष बनेर वा अर्को पार्टी खोलेर आए हुन्छ भनेको हुँ। हामी तपाईंसँग प्रतिस्पर्धा गर्न तयार छौं।’

खनालले गुण्डागर्दी गर्ने काम बन्द गर्न चेतावनी दिँदै बन्द नगरे ठाउँको ठाउँ प्रतिकार गर्ने चेतावनीसमेत दिए। खनाललाई मंगलबार एक कार्यक्रममा राजावादीको समूहले आक्रमण प्रयास गर्दै गालीगलोच गरेको थियो।

प्रकाशित: १९ जेष्ठ २०८० ०१:५० शुक्रबार

पूर्व प्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनाल सर्पदंशबाट बचाउन भेनम उत्पादन