राजनीति

कांग्रेस नेतृ मीना पाण्डेको निधन

नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको ७२ वर्षको उमेर निधन भएको छ। 

लामो समय देखि क्यान्सर रोगबाट पीडित पाण्डेको बुधबार गौशाला स्थित निवासमा निधन भएको कांग्रेसले जनाएको हो।

२००८ सालमा रामेछापमा जन्मेकी पाण्डेले २०३५ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी थिइन्। नेपाली कांग्रेस केन्द्रीय सदस्यका साथै राजइमन्त्रीसम्मको जिम्मेवारी सम्हालेकी उनी २०४८ र २०५१ को प्रतिनिधिसभा निर्वाचनमा सर्लाही २ बाट निर्वाचित भएकी थिइन्। २०७४ मा प्रतिनिधिसभा र २०६४ मा संविधानसभा सदस्यको समानुपातिकबाट सदस्यको जिम्मेवारीमा पुगेकी थिइन्।

कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको दुई पटक अध्यक्षको जिम्मेवारी सम्हालेकी पाण्डेले पुनर्स्थापनाका क्रममा पटक–पटक जेल जीवन समेत व्यतीत गरेकी छन्। कांग्रेसको एक अनुभवी महिला नेतृत्व पाण्डेसँग पार्टी सभापति शेरबहादुर देउवाले लामो समय देखि भाइ टिका लगाउँदै आएका थिए। पाण्डेकी दाजु शिवबहादुर खड्का सभापति देउवाको साथी हुन्। जेलमा दाजु शिवबहादुरसँगै देउवालाई भेटेपछि उनले निरन्तर भाइटीका लगाइदिँदै आएकी थिइन्।

पाण्डेको निधिनप्रति सभापति देउवाले दुख व्यक्त गरेका छन्। नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलन तथा महिला हक अधिकारका लागि पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै देउवाले भनेका छन्,‘उहाँलाई पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ।’

पाण्डेको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ। साथै, उनको सम्मानमा कांग्रेसले जेठ १६ देखि १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झन्डा आधा झुकाउने जनाएको छ।

१३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने कांग्रेसले जनाएको छ।

प्रकाशित: १६ जेष्ठ २०८० १२:२३ मंगलबार

मीना पाण्डे