राजनीति

प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरूद्ध उजुरी दिन १० दिनको समय

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेकाे हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान भएको छ। मंगलबार सिंहदरबारमा बसेको सुनुवाइ समितिको पहिलो बैठकले कार्कीविरूद्ध १० दिनभित्र उजुरी दिन सार्वजनिक सूचना प्रकाशन गरी आह्वान गर्ने निर्णय गरेको हो।

समितिका ज्येष्ठ सदस्य पशुपति समशेर जबराको अध्यक्षतामा बसेको बैठकले सचिवालयबाट प्रस्ताव गरिएको संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को मस्यौदालाई परिमार्जनसहित पारित गरेको छ।  

बैठकका निर्णय सुनाउँदै ज्येष्ठ सदस्य सभापति जबराले नेपालको प्रधानन्यायाधीश पदको लागि सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रस्ताव गरी संसदीय सुनुवाईको लागि न्याय परिषद्बाट समिति समक्ष वैशाख २७ गते पत्र प्राप्त भएको र उक्त पत्र कार्कीको व्यक्तिगत विवरणको प्रतिलिपि समिति सदस्यहरुलाई वितरण गर्न सचिवालयलाई निर्देशन दिए। 

उनले संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रश्तावित व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रश्तावित व्यक्तिको सम्बन्धमा कुनै सूचना भए सूचना उजुरी दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने विषयलाई अनुमोदन गरेको घोषणा गरे। सभापति जबराले सुनुवाईको लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रश्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना तथा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सरकारी सञ्चारमाध्यम र इमेल जस्ता विद्युतीय माध्यममार्फत संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिए। कार्की लामो समयदेखि कामु प्रधानन्यायाधीश छन्।

प्रकाशित: १६ जेष्ठ २०८० ०५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App