राजनीति

एमालेले तोक्यो उम्मेदवार चयन मापदण्ड

काठमाडौं- स्थानीय तह निर्वाचनमा उम्मेदवारको मापदण्ड निर्धारण गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले पार्टीका सबै कार्यक्रम चुनावकेन्द्रित बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले गाउँ/नगरपालिकामा उम्मेदवारी तोक्ने अधिकार मातहतका कमिटीलाई प्रदान गरेको छ।

एमालेले गाउँ/नगरपालिका वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारको टुंगो सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीबाट तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका मेयर उपमेयरका उम्मेदवारको टुंगो लगाउने अधिकार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीको राय सुझावमा प्रदेश कमिटीलाई दिएको छ। उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवार तोक्ने निर्णय स्थानीय कमिटीको सिफारिसमा केन्द्रले गर्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। 'स्थानीय तह निर्वाचनमा निर्धारित मितिमै हुनुपर्छ। चुनाव हुने वातावरण निर्माण गर्ने काम सरकारको हो। हाम्रो पार्टीका सबै गतिविधि अब चुनावकेन्द्रित हुने छन्,' उनले भने, 'उम्मेदवार छनोट मापदण्ड निर्धारण गरेका छौं।'

७ सय ४४ स्थानीय तहमा जनप्रतिनिधि चुन्न सरकारले वैशाख ३१ गते चुनाव गराउने मिति तोकेको छ।

आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रको चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था छ।

एमालेले सिनियर, पार्टीमा निरन्तर सक्रिय र प्रतिबद्ध, आर्थिक रुपमा पारदर्शी, समावेशी, स्वच्छ छवि, पार्टी अनुशासन कारबाहीमा नपरेका, स्थानीय तहलाई राम्रोसँग बुझेका र लोकप्रियलगायतलाई उम्मेदवार छनोट मापदण्ड तोकेको सचिव भट्टराईले बताए।  एमालेले चुनावमा विद्रोही उम्मेदवार हुने नेता तथा कार्यकर्तालाई तत्कालै कारबाही गर्ने निर्णयसमेत गरेको छ। 'पार्टीभित्रैबाट बागी उम्मेदवार हुनेलाई मात्रै होइन प्रस्तावक र समर्थक तथा प्रचारमा संलग्न हुनेलाई पनि तत्काल कारबाही हुने छ,' उनले भने।

बैठकमा अध्यक्ष ओलीले पार्टीका सबै गतिविधि चुनावकेन्द्रित गर्नुपर्ने बताएका थिए।

एमाले बैठकले स्थानीय तह चुनाव आचारसंहिता सरकारले उल्लंघन गरेको भन्दै आपत्ति जनाएको छ। सरकारले आचारसंहिता जारी भइसकेपछि बजेट रकामान्तरण र कर्मचारी सरुवाबढुवा जस्ता कार्य गरिरहेको भन्दै बैठकले आपत्ति  जनाएको हो।

प्रकाशित: ११ चैत्र २०७३ ०२:३७ शुक्रबार

एमालेले तोक्यो उम्मेदवार चयन मापदण्ड