राजनीति

मलेठमा प्रहरीको 'अन्यायपूर्ण व्यवहार'

मलेठ (सप्तरी)- नेकपा एमालेको मेची-महाकाली अभियानको क्रममा गत फागुन २३ गते सप्तरीमा भएको घटना छानविन गर्न संसदीय टोली सप्तरी आइपुगेको छ। सांसद मुख्तार अहमदको नेतृत्वमा पाँच सदस्यीय टोली घटना छानविन गर्न सप्तरी आइपुगेका हुन्।

'पीडितलाई सहिद घोषणा गर्न र आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनेजस्ता कुरा प्रतिवेदनमा प्रमुखतासाथ राख्नेछौं,'

टोलीका संयोजक मोख्तार अहमदले मलेठ घटनामा प्रहरीले अन्यायपूर्ण व्यवहार देखाएको टिप्पणि गरेका छन्। 'पानीको फोहरा, रबरको गोलीका विकल्पहरु हुँदाहुँदै प्रहरीले देखाएको व्यवहार साँच्चिकै अन्यायपूर्ण देखिन्छ', अहमदले सञ्चारकर्मीसँग भने, 'गोली चलाउनैपर्ने स्थितिमा पनि घुडाँमुनि चलाउँदा हुन्थ्यो, तर सोझै छाति र टाउकोमा गोली हान्ने कार्यलाई कुनै पनि हालतमा जायज भन्न मिल्दैन।'

उनले आफूहरु तयार पारेको रिपोर्ट संसदको समाजिक न्याय तथा मानवाधिकार समितिसमक्ष बुझाउने र उक्त समितिले सरकारलाई आवश्यक निर्देशन दिने बताए। 'पीडितलाई सहिद घोषणा गर्न र आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनेजस्ता कुरा प्रतिवेदनमा प्रमुखतासाथ राख्नेछौं,' उनले भने।

समितिले बिहीबार स्थानीय राजनीतिक दलका प्रतिनिधि, मधेसी मोर्चाका नेता, स्थानीय मानवाधिकारकर्मी, पत्रकार तथा नागरिक समाजका अगुवाहरुसँग भेटेर मलेठ घटनाको वस्तुस्थितिबारे छलफल गर्ने कार्यक्रम रहेको अहमदले बताए।  

व्यवस्थापिका संसदको समाजिक न्याय तथा मानवाधिकार समितिले सप्तरीको मलेठ घटना छाविनका लागि कांग्रेस सांसद अहमदको नेतृत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको थियो। समितिमा एमालेका बसुन्धरा रोकाया, माओवादी केन्द्रका दुलारी हरिजन, राप्रपा नेपालका श्यामसुन्दर टिबडेवाल र फोरम लोकतान्त्रिकका उषा यादव छन्।

उक्त घटनामा प्रहरीको गोली लागेर पाँच जनाको ज्यान गएको थियो। ज्यान गुमाउने पाँच जनामध्ये तीन जना मलेठ गाविसका थिए। स्थानीयका अनुसार मृतक कसैको कुनै पनि राजनीतिक दलसँग संलग्नता थिएन।

प्रकाशित: १० चैत्र २०७३ ०८:३२ बिहीबार

मलेठमा प्रहरीको अन्यायपूर्ण व्यवहार