राजनीति

सीमांकन थाती राख्ने माओवादी निर्णय

काठमाडौं- नेकपा माओवादी केन्द्रले सीमांकन थाती राखेर संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको छ। केन्द्रीय कार्यालयको बुधबारको बैठकले सीमांकनलाई थाती राखेर अन्य बुँदा पास गराउने निर्णय गरेको नेता टोपबहादुर रायमाझीले बताए।

'सीमांकनबाहेक अन्य विषय पारित गरेर जाने निर्णय भएको छ,' रायमाझीले नागरिकसँग भने, 'भाषा, नागरिकता र राष्ट्रिय सभाको संरचनामा आवश्यक पर्‍यो भने लचिलो भएर परिमार्जनसहित पारित गराउनेछौं।' उनका अनुसार स्थानीय तह निर्वाचनको वातावरण बनाउन माओवादी हदैसम्म लचिलो भएर प्रस्तुत हुनेछ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव प्रस्तुत गरे पनि संसद्को हालको संरचनाले पारित गराउन नसक्ने बताएका थिए। उनले सीमांकन थाती राख्ने विषयमा छलफल चलिरहेको भन्दै त्यसमा सहमति खोजेका थिए। 'मधेसी मोर्चाहरू पनि सीमांकन थाती राखेर जान लचिलो भएका छन् तर सहमति जनाइसकेका छैनन्', दाहालले बैठकमा भने, 'तर सहमति त्यतै नजिकनजिक पुग्दैछ।' उनका अनुसार मोर्चाका शीर्ष नेताहरूसँग छलफल गरेपछि निष्कर्षमा पुग्न सकिन्छ।

बैठकमा प्रधानमन्त्री दाहालले बिहीबारदेखि हुने आफ्नो चीन भ्रमणबारे जानकारी गराएका थिए। बैठकले स्थानीय तह निर्वाचनमा पार्टी रणनीतिबारे पनि धारणा बनाएको छ।

प्रकाशित: १० चैत्र २०७३ ०२:४४ बिहीबार

सीमांकन थाती राख्ने माओवादी निर्णय