राजनीति

'साम्प्रदायिक विद्वेष र क्षेत्रीय राजनीतिलाई चुनाबले जवाफ दिनेछ'

काठमाडौं—नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनले साम्प्रदायिक विद्वेष र क्षेत्रीय राजनीतिलाई गतिलो जवाफ दिने बताएका छन्।

एमालेको मेची महाकाली राष्ट्रिय अभियानमा सहभागी स्वयम्सेवक एवम् कलाकारलाई धन्यवाद दिन आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउन आगामी निर्वाचनमा आफ्नो पार्टीलाई सुविधानजनक बहुमत दिएर जनताले जवाफ दिने जिकिर गरे।

उनले राष्ट्रियता र लोकतन्त्रका विषयमा तर्कपूर्ण बहसका लागि आफूहरुसँग प्रतिस्पर्धा गर्न सबैलाई चुनौती दिए। अध्यक्ष ओलीले प्रदेश नं. २ का अन्य जिल्लामा अन्यत्रभन्दा प्रभावकारी कार्यक्रम गरिने जनाउँदै एमाले त्यहाँ जाँदा मधेसी मोर्चाले फैलाएका भ्रम ध्वस्त हुन्छ भनेर आफूहरुलाई अराजनीतिक व्यवहार गरिएको आरोप लगाए।

निर्वाचन आयोगलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान चलाउन महान्यायाधिवक्ताले गलत परामर्श दिएको आरोप लगाउँदै उनले मर्यादित पदका व्यक्ति जिम्मेवार हुनुपर्ने बताए।

पार्टीका नेता माधवकुमार नेपालले मेची महाकाली अभियानलाई निर्वाचनसँग जोड्दै पार्टी जनस्तरमा बलियो भएको बताए।

महासचिव ईश्वर पोखरेलले प्रदेश नं २ मा स्थगित कार्यक्रमको ढाँचाबारे दुई दिनभित्रै निर्णय गरिने जानकारी दिए। एमालेले संविधान कार्यान्वयन, निर्वाचन, राष्ट्रिय एकता र सद्भावका लागि गत फागुन २१ देखि यही चैत ५ गतेसम्म सो अभियान सञ्चालन गरेको थियो। रासस

प्रकाशित: ८ चैत्र २०७३ १४:३१ मंगलबार

साम्प्रदायिक विद्वेष क्षेत्रीय राजनीतिलाई चुनाबले जवाफ दिनेछ