राजनीति

चीनसँग कुनै सम्झौता नहुने, दाहालले सीसँग १५ मिनेट भेट्ने

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबारदेखि जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन्। चीन भ्रमणका अवसरमा उनले राष्ट्रपति सीसँग १५ मिनेट बैठक गर्ने निश्चित भएको छ।

‘चीन भ्रमणका क्रममा प्रधानमन्त्री तहबाट कुनै सम्झौता हुने तयारी भएको छैन। मौखिक कुराकानीहरु मात्र भएकाले सम्झौता हुने सम्भावना न्युन छ’, स्रोतले भन्यो।

बोवाओ फोरममा सहभागी हुन प्रधानमन्त्री दाहाल बिहीबार राति ११ बजे ग्वान्झाओ प्रस्थान गर्ने भएका हुन्। दक्षिणी चीनको हेनान प्रान्तमा चैत १० देखि १३ सम्म बोवाओ सम्मेलन हुँदैछ।

चीन भ्रमणका क्रममा उनले कुनै सम्झौता नगर्ने उच्च स्रोतले बतायो। ‘प्रधानमन्त्रीको भ्रमण अवसरमा सम्झौता हुने सम्भावना न्यून छ’ स्रोतले भन्यो।

प्रधानमन्त्री दाहालको चीन भ्रमण अवसरमा वान बेल्ड वान रोड परियोजनामा हस्ताक्षर हुने चर्चा रहँदै आएको थियो। सो बृहत् परियोजनामा हस्ताक्षर गरे नेपालले रेलमार्ग तथा सडक निर्माणका लागि चिनियाँ सहयोग पाउने निश्चित हुने थियो। तर दाहालको भ्रमणमा त्यस्तो कुनै तयारी नभएको स्रोतले बतायो।

‘चीन भ्रमणका क्रममा प्रधानमन्त्री तहबाट कुनै सम्झौता हुने तयारी भएको छैन। मौखिक कुराकानीहरु मात्र भएकाले सम्झौता हुने सम्भावना न्युन छ’, स्रोतले भन्यो।

प्रधानमन्त्री दाहाल चैत १२ गते हेनानबाट बेइजिङ प्रस्थान गर्नेछन्। त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग छोटो बैठक गर्नेछन्। ‘प्रधानमन्त्रीले राष्ट्रपति सीसँग १५ मिनेट कुराकानी गर्ने तय भएको छ’, नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो।

चिनियाँ राष्ट्रपतिले भेट नदिने भए आफू चीन नजाने अडान दाहालले सुरुमा राखेका थिए। सो अडानपछि चिनियाँ पक्षले उनीसँगको छोटो बैठक तय गरेको हो। भारततर्फ झुकाव भएका नेपाली नेताहरुलाई चिनियाँ संस्थापन पक्षले भेट गर्न आनाकानी गर्दै आएको छ।

१२ सदस्यीय हुनेछ प्रतिनिधिमण्डल
प्रधानमन्त्री दाहालको ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानेछन्। उनको प्रतिनिधिमण्डलमा श्रीमती सीता, परराष्ट्रमन्त्री प्रकाश शरण महत, प्रधानमन्त्री कार्यालयका एक सचिव, चिफ अफ प्रोटोकल, परराष्ट्र मन्त्रालयका चाइना डेस्क प्रमुख, प्रधानमन्त्रीका निजी सचिव, प्रेस सल्लाहकार, निजी चिकित्सक र सुरक्षा अधिकृत रहनेछन्।

दाहाल चैत १५ मा ल्हासामा एक रात बास बस्नेछन्। उनी चैत १६ गते काठमाडौं फर्किने कार्यक्रम छ।

प्रकाशित: ८ चैत्र २०७३ ०६:१० मंगलबार

चीनसँग कुनै सम्झौता नहुने दाहालले सीसँग १५ मिनेट भेट्ने