राजनीति

प्रधानमन्त्रीद्धारा शान्ति प्रयासको उद्घाटन, २८ देशका सैनिकले संयुक्त अभ्यास गर्दै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले २८ देशका एकहजार २४ सेना सम्मिलित संयुक्त सैन्य अभ्यासको सोमबार शुभारम्भ गरेका छन। काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा बिशेष समारोह आयोजना गरि अभ्यासको सुरुवात भएको हो।

नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको सह–आयोजनामा अभ्यास संचालन भएको हो । सोमबार नेपालका लागि अमेरिकी राजदुत एलिना बी टेप्लीज र प्यासिफिक कमाण्डका कमाण्डर एडमाईरल ह्यारी बी ह्यारिसको उपस्थितीमा अभ्यासको सुरुवात भएको हो । अभ्यास चैत २१ गते समापन हुनेछ।

दुईसाता लामो संयुक्त सैन्य अभ्यासमा नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका, मलेसिया, इन्डोनेशिया, मंगोलिया, कम्बोडिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, रुवाण्डा, किर्गिस्तान,काजिकस्तान, बोस्निया हर्जगोभिना, घाना, पाराग्वे, उरग्वे, मेक्सिको,जोर्डन र अमेरिका सहभागी छन। यस्तै भारत, जापान, बेलायत,अष्ट्रेलिया,क्यानडा, न्युजिल्याण्ड र दक्षिण कोरिया सहभागी छन। 

नेपालबाट २०५६ मा सुरुवात भएको शान्ति प्रयासको तेस्रो संस्करण यसवर्ष तेस्रो पटक नेपालले आयोजना गर्ने भएको हो । यसअघि शान्ति अभ्यास दोस्रो २०६९ मा नेपालमै आयोजना भएको हो । शान्ति अभ्यास दोस्रोमा २३ देशका आठसय ५० सेना सहभागी रहेका थिए।

तालिमको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि कार्यक्षेत्रमा तैनाथ हुनु अघि संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा एकआपसमा सहकार्य गर्ने र शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिबृद्धि ल्याउनु रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

तालिम केन्द्रका केन्द्रपति महासेनानी प्रयोग शम्सेर राणाले शान्ति प्रयासको तेस्रो संस्करण संयुक्त राष्ट्र संघले शान्ति प्रक्रियामा खटिने फौजका लागि लागू गर्ने तयारीमा रहेका नयाँ नियम र अभ्यासका बिषयमा केन्द्रीत हुने बताए । उनका अनुसार सहभागी २८ देशका सेनाले आफ्नो देश भित्र र बाहिर शान्ति प्रक्रियामा खटिदा गरेका अनुभव साटासाटका साथै शान्ति प्रक्रियामा देखिएका नयाँ चुनौती बिरुद्धका कारवाहीका बिषयमा अभ्यास गर्नेछन।

‘युएनले ल्याउन लागेका नयाँ नीति नियम र द्धन्दको बदलिदो विश्व परिवेशका बिषयमा अभ्यास केन्द्रीत हुनेछ, नागरिकको सुरक्षा, प्रति आतंकबाद र शान्ति प्रक्रियाका विविध पक्षमा अभ्यास केन्द्रीत छ,’ महासेनानि राणाले भने ।

यसरी सुरु भयो शान्ति अभ्यास

नेपालमा बढदो आन्तरिक द्धन्दका बिच २०५६ मा नेपाल, बंगलादेश, श्रीलंका र अमेरिकाले पाँचखालमै गरेको संयुक्त अभ्यास हाल ६ देशमा आयोजना भै सकेको छ । नेपालमा चारदेशका करिब ५५ जना सैन्य अधिकारीबाट सुरु भएको संयुक्त सैन्य अभ्यास १७ वर्षमा पुग्दा २८ देश र एकहजार बढिको सहभागिता हुने भएको छ ।

सेनाका पूर्व उपरथि बालानन्द शर्माले विश्वमा बढ्दो आन्तरिक तथा बाह्य द्धन्दको समाधान र रोकथामका लागि नेपालबाट अभ्यासको सुरुवात भएको बताउछन । उनले पहिलो शान्ति अभ्यासको सम्झनागर्दै भने ‘नेपालमा माओवादी, बंगलादेशमा धार्मिक, श्रीलंकामा लिट्टेको जगजगीका बिचमा सुरुवात भएको हो, सार्थक प्रयास थियो त्यसैको नतिजा भन्न सकिन्छ,’ ।

नेपालमा २०५६(सन २०००) मा आयोजना पछि सन २००४ मा श्रीलंकामा अभ्यास समागाम, सन २००८ मा बंगलादेशमा अभ्यास शान्ति दुत, सन २०११ मा थाईल्याण्डमा अभ्यास आयरा गार्डियन, सन २०१४ मा इन्डोनेशियामा अभ्यास गरुण कान्ति धर्म, सन २०१५ मा मलेसियामा केरिस अमन, सन २०१६ मा मंगोलियामा अभ्यास खान क्वेस्टका नामले अभ्यासको आयोजना भएको छ ।

शान्ति सेनामा एकलाख बढि नेपाली सेना

सन १९५८ मा द्धन्दग्रस्त लेबनानमा ६ जना अनुगमनकर्ता पठाएर सुरु भएको नेपाली सेनाको शान्ति सेनामा हाल एकलाख ११ हजार ३८ जनाले सहभागिता जनाएका छन । हाल नेपाली सेना ४१ देशमा विभिन्न नामले संयुक्त राष्ट्र संघको झण्डा मुनि शान्ति प्रक्रियामा सहभागी भै रहेका छन । नेपालले सन १९७४ मा इजिप्टमा सेना पठाएसँगै शान्ति सेनामा उसको विधिवत सुरुवात मानिदै आएको छ ।

सकियो सूर्य किरण

नेपाली सेना र भारतीय सेनाले संयुक्त रुपमा गर्दै आएको सैन्य अभ्यास सूर्य किरणको एघारौं संस्करण सोमबार सकिएको छ । भारतको पिथौरागढमा रहेको पंजाब रेजिमेन्ट २८ औं बटालियन  ब्यारेकमा फागुन २४ बाट अभ्यास संचालन भएको हो ।

विपद् व्यवस्थापन, प्रतिविद्रोह तथा जंगल वारफेयर जस्ता विषयहरु समावेश गरि संचालन भएको अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानीसुधिर केसीको नेतृत्वमा ३१४ जना र भारतीय सेनाबाट ३५० गरी जम्मा ६६४ जनाको टोली सहभागी रहेको थियो । 

 

प्रकाशित: ७ चैत्र २०७३ १३:४३ सोमबार

प्रधानमन्त्रीद्धारा शान्ति प्रयासको उद्घाटन २८ देशका सैनिकले संयुक्त अभ्यास गर्दै