राजनीति

एमालेले रोष्ट्रम घेरेपछि संसद् बैठक स्थगित

नेकपा एमालेले आज संसद् अवरोध गरेको छ। नाराबाजी गर्दै रोष्ट्रम घेरेपछि सभामुखले बैठक स्थगित गरेका छन्।  

एमालेले सत्ता पक्षका सांसद्ले सदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथमा लगाइएको सुनको जलहरीलाई नक्कली अर्थात् पित्तलको भएको बताएको भन्दै सदन अवरुद्ध गरेको हो। सभामुख देवराज घिमिरेले बैठक सुचारु गर्न आग्रह गरेपनि एमाले सांसद्हरुले बैठक संचालन गर्न दिएनन्। 

गत बुधबार सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद चल्न नदिने अडान लिएका थिए । एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएम्म संसद चल्न नदिने अडान राखेका थिए।

यसैक्रममा सभामुखले सांसद् हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले नेताहरुले रोष्ट्रम घेरेका थिए। नाराबाजी गर्दै रोष्ट्रम घेरेपछि सभामुख घिमिरेले २० मिनेटको लागि बैठक स्थगित गरेका छन्। 

प्रकाशित: १२ जेष्ठ २०८० ०७:०४ शुक्रबार

एमालेले रोष्ट्रम घेरेपछि संसद् बैठक स्थगित