राजनीति

अतिवादलाई सरकारबाटै प्रोत्साहन : ओली

काठमाडौं- एमालेले पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठनसँगै जातीय/क्षेत्रीय अतिवाद र सामाजिक विद्वेषले शिर उठाउने थालेको जनाएको छ। मेची–महाकाली अभियानबारे पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ। ओलीले जातीय/क्षेत्रीय अतिवाद र सामाजिक विद्वेषलाई सरकारले प्रोत्साहित गरिरहेको आरोप लगाएका छन्।

'मिलेर बसेको नेपाली समाजलाई विभिन्न नाममा विभाजित गर्ने, विगतमा सामन्ती व्यवस्थाका कारण सिर्जित सामाजिक विभेद र उत्पीडनको दोष कुनै एक समुदायमाथि थोपरेर जातीय र साम्प्रदायिक घृणा फैलाउने र राष्ट्रिय एकतालाई कमजोर गर्ने प्रवृत्ति बढ्न थालेका छन्', ओलीले भनेका छन्, 'अझ कतिपय तत्वले खुलेआम मुलुकलाई विभाजन गर्ने घोषणा गर्दै यसका लागि हिंसात्मक हरकतसमेत गरिरहेका छन्। यस्ता प्रवृत्ति नियन्त्रण गर्नुको साटो वर्तमान सरकार प्रोत्साहन गरिरहेको छ।'

१६ बुँदामा समेटिएको विज्ञप्तिमा ओलीले एमाले तराईमधेस विकास र समृद्धिका लागि दृढ रहेको जनाएका छन्। 

ओलीले मेची–महाकाली राष्ट्रिय अभियान सफलतापूवर्क सम्पन्न भएको दाबी गरेका छन्। विज्ञप्तिमा ओलीले 'अभियानको मूल उद्देश्य संविधान कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्नु, संविधानले निर्दिष्ट गरेको समयसीमाभित्र तीनै तहको निर्वाचन गरेर राजनीतिक स्थायित्व कायम गर्न उचित वातावरण निर्माण गर्नु, मुलुकको राष्ट्रिय स्वाभिमान र स्वाधीनतामाथि देखापरेका चुनौतीलाई चिर्न जनचेतना अभिवृद्धि गर्नु, सामाजिक सद्भाव सुदृढ गर्नु र राष्ट्रलाई समृद्धितर्फ अग्रसर गराउनु' रहेको बताएका छन्।

फागुन २१ गते झापाबाट सुरु भएको अभियानक्रममा पार्टीका कार्यकर्ताले १० लाख घरधुरीमा पुगेर ५० लाखलाई अपिल वितरण गरेको विज्ञप्तिमा उल्लेख छ । ओलीले अभियानलाई प्रभावित गर्न विभिन्न स्थानमा मधेसी मोर्चाले अवरोध गरेको भन्दै  भर्त्सना गरेका छन्। उनले फागुन २३ गते राजविराजमा एमाले कार्यक्रम बिथोल्न खोज्दा ५ जनाको मृत्यु भएको घटनामा मोर्चा जिम्मेवार भएको बताएका छन्। उनले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रकाशित: ५ चैत्र २०७३ ०२:१६ शनिबार

अतिवादलाई सरकारबाटै प्रोत्साहन ओली