राजनीति

कांग्रेस नेता ढुंगेलको निधन

काठमाडौं- नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको निधन भएको छ। रामेछापबाट पार्टी महासमिति सदस्यसमेत रहेका पूर्वकृषि सहायकमन्त्री ढुंगेल बिहीबार बिहान डिल्लीबजारस्थित डेरामा मृत भेटिएका हुन्।

स्वास्थ्यमा समस्या देखिएपछि बुधबार राति १० बजेतिर हिमाल अस्पताल पुगेर परीक्षण गराएर डेरामा फर्केका ढुंगेल बिहान ढिलासम्म नउठेपछि खोजी भएको भतीजा सन्तोषले जानकारी दिए। 'मर्निङवाक जान नउठ्नु भएपछि उहाँको खोजी सुरु भएछ,' उनले भने, 'मोबाइल पनि नउठ्ने र ढोका ढकढक गर्दा पनि नबोलेपछि रत्नहरि ढंुगेलले ढोका फुटाएर भित्र हेर्दा मृत अवस्थामा भेटिनु भएछ।' उनलाई सोही घरमा डेरामा बस्नेले फोन गरेको पनि सन्तोषले कांग्रेस नेतालाई सुनाए।

अविवाहित ढुंगेल डेरामा एक्लै बस्दै आएको जानकारी दिंदै सन्तोषले नेताहरूलाई सुनाए, 'बुधबार एउटा भोजमा जानुपर्ने थियो तर उहाँ जानु भएन।'

उच्च रक्तचाप, ग्यास्ट्रिकसहितका रोगबाट पीडित ढुंगेल वान्ताले शरीरका केही भाग भिजेको अवस्थामा ओछ्यानमै मृत भेटिएका थिए। बान्ता श्वासनलीमा गएर उनको निधन भएको आशंका गरिए पनि अन्य कारण केही हुनसक्ने भन्दै पोस्टमार्टम गरिएको छ।

ढुंगेल २०१३ सालमा रामेछापको पकरवासमा सामान्य किसान परिवारमा जन्मेका थिए। नेपाल विद्यार्थी संघबाट राजनीति थालेका ढुंगेलले विश्वभाषा, त्रिचन्द्रसहितका क्याम्पसमा संघको नेतृत्व सम्हाल्दै कांग्रेस रामेछापको सदस्य, सचिव हुँदै सभापतिसम्मको भूमिका निर्वाह गरेका थिए।

२०५६ को आमनिर्वाचनमा रामेछाप २ नम्बर क्षेत्रबाट निर्वाचित ढुंगेलले गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारमा कृषि सहायकमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। ढुंगेल २०३६ सालपछि राजनीतिमा सक्रिय रहेको स्मरण गर्र्दै रामेछाप कांग्रेस पूर्वसभापति रामचन्द्र खड्काले भने, 'आफ्नो होइन पार्टी र मुलुकको हितमा उहाँले सम्पूर्ण जीवन समर्पण गर्नुभयो। पूर्ण लोकतान्त्रिक व्यवस्थाप्रतिको निष्ठा र पार्टीप्रतिको निरन्तरतामा उहाँमा कहिल्यै विचलन देखिएन।'

विवाह गरेर व्यक्तिगत जीवन व्यवस्थित गर्न आफूहरूले पटकपटक आग्रह गर्दा पनि ढुंगेल तयार नभएको सम्झँदै खड्काले भने, 'विवाह गरेपछि पारिवारिक झन्झट हुन्छ। त्यसबाट मुक्त रहेर देश र समाजको सेवा गर्न दिनुस् भन्नुहुन्थ्यो।'

काठमाडौं कांग्रेसका पूर्वसभापति तिर्थराम डंगोलले ढुंगेललाई सरल र निष्ठावान नेताको रुपमा स्मरण गरे। उनले भने, 'पार्टीप्रति निरन्तर सक्रिय, इमानदार नेता पार्टीले गुमाएको छ।'

पार्टीभित्र र बाहिर र्निधक्कसँग बोल्ने खरो/विद्रोही स्वभावका नेताका रुपमा पनि उनलाई चिनिन्थ्यो। नेता कृष्णप्रसाद सिटौलालु भने, 'रामेछापको समाज निर्माणमा उहाँको ठूलो योगदान छ। उहाँको निधनले कांग्रेसले मात्र होइन प्रतिपक्षी दलले पनि एउटा प्रिय नेता गुमाएका छन्।'

केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेले जेलमा बस्दा पनि ढुंगेलले सबैतिको जानकारी लिइहने स्मरण गरे। ढुंगेलसँग पटकपटक जेलजीवन बिताएको स्मरण गर्दै आङ्दम्बेले भने, 'उहाँलाई हामी बिबिसी भने गरेका थियौं। प्रत्येक भेटमा केही न केही नयाँ सूचना उहाँले ल्याएकै हुनुहुन्थ्यो।'

पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार नै शोक विज्ञप्ति जारी गर्दै नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापनामा ढुंगेलको योगदान अतुलनीय रहेको जनाएका छन्। संविधान कार्यान्वयन चरणमा ढुंगेलकोे निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै देउवाले भनेका छन्, 'कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा ढुंगेलले पुर्‍याएको योगदानको पार्टीले सधैं स्मरण गर्ने छ।'

ढुंगेलको बिहीबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो। महामन्त्री शशांक कोइरालासहितका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता आर्याघट पुगेका थिए। त्यसअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि शव राखिएको थियो। त्यहाँ सभापति शेरबहादुर देउवाले ढुंगेलको शवमा पार्टीको झन्डा ओढाएका थिए। श्रद्धाञ्जली दिन  रामचन्द्र पौडेल, प्रकाशमान सिंह, सिटौला, शेखर कोइरालासहितका नेता तथा कार्यकर्ता पार्टी कार्यालय पुगेका थिए।

प्रकाशित: ४ चैत्र २०७३ ०२:०८ शुक्रबार

कांग्रेस नेता ढुंगेलको निधन