राजनीति

महोत्तरीमा स्थानीय तह पुनसंर्चना कार्यान्वयन हुँदै

जिल्ला विकास समितिको साईन बोर्ड रहेको ठाउँमा जिल्ला समन्वय समिति उल्लेखित साईन बोर्ड । तस्बिर : महेशकुमार दास

महोत्तरी – सरकारले स्थानीय तह पुनसंरचना गरे अनुसार महोत्तरीमा तोकिएको स्थानीय तह अन्तर्गत ३ नगरपालिका र १२ गाउँपालिका कार्यान्वयन तर्फ अगाडि बढेको छ । 
जिल्ला विकास समिति महोत्तरीको बोर्ड फेरिएर जिल्ला समन्वय समितिको कार्यालयमा परिणत भएको छ भने साविकको गाउँ विकास समितिहरूलाई समावेश गरेर केन्द्रबिन्दु तोकिएका ठाउँमा गाउँपालिकाको उल्लेखित साईन बोर्ड झुण्डयाइएको छ । 
‘राजपत्रमा सूचना प्रकाशित भए लगतै जिल्ला विकास समिति महोत्तरीको साईन बोर्डको ठाउँमा जिल्ला समव्य समिति महोत्तरीको लेखिएको साईन बोर्ड परिवर्तन गरिएको छ । ’ स्थानीय विकास अधिकारी युवराज पौडेलले भने ‘कार्यालयको लेटर प्याड र छाप समेत परिवर्तन भई सकेको छ । ’ 
गाउँपालिकाहरूमा पनि साईन वोर्ड परिवर्तन भएर लेटर प्याड र छाप समेत परिर्तन गर्ने कार्य पुरा भई सकेको स्थानिय विकास अधिकारी पौडेलले बताएको छ । 
कार्यालयको नाम परिवर्तन भएकोले केही दिनका लागि स्थानीय तहका सबै निकायको बैंक खाता रोक्का गरिएको र बैंक खातामा नाम परिवर्तन भए लगतै आर्थिक कारोवार शुरु हुने जनाइएको छ । 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश २०७३ अनुसार स्थानीय तहले आफ्नो नाम परिवर्तन गरेका हुन् । 
यसैबीच महोत्तरीमा तोकिएको १२ गाउँपालिकामा अधिकृत तोकेर काममा खटाइ सकिएको जिल्ला समन्वय समिति महोत्तरीले जनाएको छ । 
रामगोपालपुर गाउँपालिकामा मोहनकुमार भगत, मटिहानी गाउँपालिकामा राजेशकुमार शर्मा, सम्सी गाउँपालिकामा असर्फि साह, औरही गाउँपालिकामा रामएकवाल यादव , लोहारपटी गाउँपालिकामा रामविनय पाण्डेयलाई जिम्मेवारी तोकेर काममा खटाइएको जिल्ला समन्वय समिति महोत्तरीले जनाएको छ । 
त्यस्तैगरी सोनमा गाउँपालिकामा रामएकवाल साह, पिपरा गाउँपालिकामा विनय कर्ण , मनरा गाउँपालिकामा लक्ष्मी नारायण ठाकुर, महोत्तरी गाउँपालिकामा रंजितकुमार पाण्डे, एकडारा गाउँपालिकामा मोहनकुमार चौधरी, बलवा गाउँ पालिकामा खुशिराम यादव, भंगहा गाउँपालिकामा रामतेज भण्डारीलाई जिम्मेवारी दिएर पठाइएको जनाइएको छ । 
 

प्रकाशित: ३ चैत्र २०७३ ०९:२१ बिहीबार

महोत्तरीमा स्थानीय तह पुनसंर्चना कार्यान्वयन हुँदै