राजनीति

मुख्यमन्त्रीहरुको अन्तरप्रदेश भेला स्थगित

पोखरामा बुधबार हुने भनिएको सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ।

प्रधानमन्त्रीलाई दबाब दिन हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको हो। यसअघि अन्तर प्रदेश मुख्यमन्त्री बैठक यही जेठ १० गते बुधबारदेखि हुने भनिएको थियो। तर मंगलबार अचानक बैठक स्थगित गरिएको हो। 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तर प्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको जनाएको छ। बैठक अचानक किन स्थगित गरियो भन्नेबारेमा भने केही पनि खुलाइएको छैन। मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारको अनुभव आदानप्रदान गर्ने उद्देश्यले जेठ १० गते पोखरामा हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक तत्कालका लागि स्थगित भएको ब्यहोरा जानकारीको लागि अनुरोध छ।’ 

श्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बैठकमा नआउने भएपछि बैठक स्थगित गरिएको हो। ‘बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने तय थियो,’ श्रोतले भन्यो, ‘तर प्रधानमन्त्री कार्यव्यस्तताले नआउने भएपछि बैठक स्थगित गरिएको हो।’ प्रधानमन्त्रीको समय अनुकूल हुने बित्तिकै बैठक पुनः आह्वान हुने मुख्यमन्त्री निकट श्रोतले जनाएको छ। 

बैठकले प्रदेशलाई बलियो बनाउन अधिकार बाँडफाँटका लागि प्रधानमन्त्रीलाई दबाब दिने तयारी थियो। यसअघि तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री हुँदा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुको भेला पोखरामा भएको थियो।  

प्रकाशित: ९ जेष्ठ २०८० ०८:३० मंगलबार

‘मुख्यमन्त्री पोखरा अन्तरप्रदेश भेला