राजनीति

नयाँ ठेगानाअनुसार मतदाता परिचयपत्र, मत पत्रकाे सुरक्षा जिम्मा सेनालार्इ

काठमाडौं– निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि हालै लागू भएको स्थानीय तहको ठेगाना राखेर  मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।

आयोगले झन्डै १५ करोड रुपैयाँ खर्च गरेर मतदाता परिचयपत्र छाप्न ओम्नी गु्रप नामक कम्पनीलाई जिम्मा दिएको छ

आयोगले २०७३ फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका र १८ वर्ष उमेर पूरा भएका मतदातालाई स्थानीय तहको ठेगानाअनुसार मतदाता परिचपपत्र बाँडने तयारी गरेको हो ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले फोटोसहितको मतदाता परिचयपत्रमा नाम भएका र निर्वाचन घोषणा हुँदाको दिनसम्म १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकलाई विशेष सुरक्षासहितको मतदाता परिचयपत्र बाँडने तयारी गरेको बताए । उनका अनुसार त्यसका लागि आयोगले झन्डै १५ करोड रुपैयाँ खर्च गरेर मतदाता परिचयपत्र छाप्न ओम्नी गु्रप नामक कम्पनीलाई जिम्मा दिएर प्रक्रिया सुरु गरिसकेको छ ।

आयोगका अनुसार अब बाँडिने मतदाता परिचयपत्रमा हालै लागू भएको स्थानीय तहकै नयाँ ठेगाना उल्लेख÷कायम हुनेछ । ‘संविधानसभा निर्वाचनताका बाँडिएका मतदाता परिचयपत्रभन्दा केही सुरक्षा फिचर, गुणस्तर र नयाँ ठेगाना समेत उल्लेख गरेर मतदाता परिचयपत्र बाँड्छौं,’  प्रवक्ता शर्माले नागरिकसँग भने, ‘अब बाँडने परिचयपत्रमा नयाँ स्थानीय तह अनुसारकै नयाँ ठेगाना उल्लेख हुन्छ ।’ 

आयोगले बाँडने परिचयपत्रमा मतदाताको फोटो, नाम, ठेगाना, नागरिकता नम्बर, मतदाता परिचयपत्र नम्बर उल्लेख हुनेछ । त्यसमा बार कोडलगायत विभिन्न सुरक्षा फिचर राखिएको हुनेछ । मतदाता परिचयपत्र भने कागजकै हुनेछ । ‘सरकारले राष्ट्रिय परिचयपत्र बाँडने कुरा छ, त्यसपछि छुट्टै मतदाता परिचयपत्रको आवश्यक पर्दैन,’ आयोग प्रवक्ता शर्माले भने, ‘केही वर्ष टिकाउ हुने र सजिलै पानीले नभिजोस् भनेर कागजमै तर लेमिनेसन गरिएको परिचयपत्र बाँड्छौं ।’ उनले आयोगले बाँड्ने मतदाता परिचयपत्र मेसिनले पढनसमेत सक्ने बताए । उनले १० वर्षसम्म टिक्न सक्ने प्रकृतिको परिचयपत्र बाँडिने बताए । 

मतदाता परिचयपत्र छपाइको काम सकिएपछि वितरणका लागि सम्बन्धित निर्वाचन मतदान केन्द्र, निर्वाचन कार्यालयसम्मै पठाइनेछ । कार्यालयमार्फत निर्वाचनमा खटिने कर्मचारीले गाउँगाउँ पुगेर परिचयपत्र बाँडने जानकारी शर्माले दिए । आयोगले स्थानीय निर्वाचनमा झन्डै १ करोड ४० लाख हाराहारीमा मतदाता हुने जनाएको छ । मतदाता नामावली प्रशोधन काम भइरहेकाले चैत २० सम्म अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ । अघिल्लो संविधानसभा निर्वाचनमा आयोगले अस्थायी मतदाता परिचयपत्र बाँडेको थियो । 

मतपत्र सुरक्षा जिम्मा सेनालाई 

निर्वाचन आयोगले मतपत्र छपाइमा सुरक्षाका लागि नेपाली सेनालाई खटाइदिन पत्रमार्फत रक्षामन्त्रालयलाई आग्रह गरेको छ । आयोगले चैत ५ गतेदेखि मतपत्र छपाइको काम सुरु हुने भएकाले सुरक्षाका लागि सेना खटाइदिन आग्रह गरेको हो । 

निर्वाचनमा सवा दुई लाख कर्मचारी

स्थानीय तह निर्वाचन गराउन सवा दुई लाखभन्दा बढी कर्मचारी आवश्यक पर्ने भएको छ । आयोगका प्रवक्ता  शर्माले निर्वाचन गराउन २ लाख १८ हजारभन्दा बढी कर्मचारी आवश्यक पर्ने जानकारी दिए । जिल्लास्थित निर्वाचन कार्यालयलाई उपयुक्त ठाउँमा निर्वाचन केन्द्र तोक्न निर्देशन दिइसकिएकाले जिल्लाबाट विस्तृत विवरण आएपछि केन्द्र संख्यासमेत निश्चित हुने उनले बताए । शर्माका अनुसार एउटा मतदान केन्द्रमा उपसचिवको नेतृत्वमा शाखाअधिकृत, नायबसुब्बा, सहयोगी गरी ८ जना कर्मचारी राख्ने तयारी छ । 

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन शिक्षाबारे नेपालका ८० प्रतिशत मतदाता जानकार नभएको बताएका छन् । आयोगमा आयोजित मतदाता शिक्षा प्रशिक्षक प्रशिक्षण कार्यक्रममा यादवले ८० प्रतिशत मतदाता निर्वाचन शिक्षाबारे जानकार नभएकाले मतदाता शिक्षा  कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउनुपर्ने बताएका हुन् । उनले मतदाता शिक्षालाई उच्चप्राथमिकतामा राखेर हरेक मतदान केन्द्रमा कम्तीमा तीन जना मतदाता शिक्षा कार्यकर्ता वा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने जानकारी दिए । 

प्रकाशित: २ चैत्र २०७३ ०३:१० बुधबार

ठेगानाअनुसार मतदाता परिचयपत्र मत पत्रकाे सुरक्षा जिम्मा सेनालार्इ