राजनीति

चीन भ्रमणको तयारीमा दाहाल, ओबिओआरमा हस्ताक्षर होला?

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको तयारी सुरु गरेका छन् । चैत १० गते चीनको हेनान प्राप्तको बोआओमा सुरु हुने ‘बोआओ फोरम फर एसिया सम्मेलन’ मा निमन्त्रणा आएपछि प्रधानमन्त्री दाहालले चीन भ्रमणको तयारी थाल्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्। 

‘बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीज्यूलाई चीनको निमन्त्रणा प्राप्त भएको छ’, प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘उहाँले सम्मेलनमा सहभागी हुन छलफल सुरु गर्नुभएको छ ।’

‘प्रधानमन्त्रीज्यू चीन जानुहुन्छ तर कुन मितिमा भन्ने निर्णय हुन बाँकी छ । भ्रमणका बेला कुन कुन एजेन्डामा छलफल गर्ने भन्ने तय हुन पनि बाँकी छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

एसियाका २८ राष्ट्रका प्रतिनिधि सम्मिलित बोआओ फोरमको वार्षिक सम्मेलन चैत ९ देखि १३ गतेसम्म हुनेछ। प्रत्येक वर्ष चीनले बोआओ सम्मेलन आयोजना गर्छ।

निमन्त्रणा पाएलगत्तै उनले सोमबार उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग छलफल गरेका थिए। ‘प्रधानमन्त्रीज्यू चीन जानुहुन्छ तर कुन मितिमा भन्ने निर्णय हुन बाँकी छ । भ्रमणका बेला कुन कुन एजेन्डामा छलफल गर्ने भन्ने तय हुन पनि बाँकी छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

बोआओ सम्मेलनमा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको सहभागिता चैत ११ गतेदेखि हुनेछ । प्रधानमन्त्री दाहाल पनि सोही दिन त्यहाँ पुग्ने तयारीमा छन् । यसपटकको सम्मेलनको थिम ‘विश्वव्यापीकरण र खुला व्यापार’ रहेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि दाहाल नेतृत्वको सरकारप्रति चीन असन्तुष्ट रहँदै आएको थियो। ओलीको चीन भ्रमणका बेला भएका सम्झौता र सहमति अघि बढाउन वर्तमान सरकारले आनकानी गरेको बुझाइ चीनको थियो। चीनले प्रस्ताव गरेको ‘वन बेल्ट वन रोड (ओबिओआर)’ प्रस्तावमा लामो समय नेपालले मौन बसेपछि चीन झनै चिढिएको थियो। पछिल्लोपटक सरकारले ओबिओरलाई सकारात्मक रूपमा लिँदै उक्त महत्वाकांक्षी परियोजनामा चीनलाई साथ दिने जनाएपछि चीनले प्रधानमन्त्री दाहाललाई बोआओ सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएको हो ।

‘प्रधानमन्त्रीको चीन भ्रमणलाई विशेष बनाउन केही महत्वपूर्ण विषयमा छलफल गरी टुंगोमा पुर्‍याउन आवश्यक छ। हामी उहाँको भ्रमण बोआओमा मात्र सीमित नगरी बेइजिङसम्म तन्काउने प्रयासमा छौं’, परराष्ट्र स्रोतले भन्यो।

गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि बोआओ सम्मेलनमा सहभागी भएका थिए। ओली बेइजिङ हुँदै बोआओ पुगेका थिए । ओलीको भ्रमणका बेला नेपाल र चीनबीच १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल र चीनबीच पारवहन तथा यातायात, स्वतन्त्र व्यापार, ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पोखरा विमानस्थलका लागि २१ अर्ब लगायतको २५ प्रतिशत अनुदान, पोखरा विमानस्थलका लागि चिनियाँ बैंकको सहुलियत ऋण, नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषण समझदारी, पेटेन्ट राइट, बैंकिङ रेगुलेसन (शाखा सेवा आदानप्रदान) र हिल्सा–यारी जोड्ने पुल निर्माणलगायतका सम्झौता तथा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । 

ओलीको चीन भ्रमणका बेला सम्झौता तथा समझदारी भएबाहेक अन्य २७ मुद्दामा पनि छलफल भएको थियो । बहुप्रतीक्षित इन्धन सम्झौतामा गत वर्ष नेपाल र चीनबीच सम्झौता हुने सकेको थिएन । चीनबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने सम्बन्धमा व्यापारिक सम्झौता सम्पन्न गर्न दुवै सरकार सहमत भएका थिए । यसका लागि दुवै देशका व्यावसायिक संस्थाले वार्ताद्वारा मूल्य, ढुवानी, सुरक्षा, कर, भन्सार तथा सीमानाकामा रहेका नीतिगत तथा व्यावहारिक अड्चन फुकाउन छलफल गर्ने र सम्बन्धित निकायले त्यसका लागि सहयोग पुग्ने खालका नीतिगत सहायता दिने विषयमा सहमति भएको थियो । 

चीनले नेपालमा पेट्रोलियम पदार्थ  भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माण गरिदिने प्रतिबद्धतासमेत ओलीको भ्रमणका बेला गरेको थियो । नेपालको व्यापार घाटा घटाउन चीनमा निर्यात सम्भाव्यता भएका पाँच सयभन्दा बढी नेपाली वस्तुलाई सहज बजार प्रवेश दिन नेपाली पक्षबाट प्रस्तुत गरिएको सूचीलाई गम्भीरताका साथ विचार गर्नसमेत चीन सहमत भएको थियो । ‘अघिल्लो सरकारका बेला टुंगोमा पुग्न नसकेका मुद्दा  यसपटक समेटिनेछ’, परराष्ट्र स्रोतले भन्यो ।

यो सरकार बनेपछि प्रधानमन्त्री दाहालले चीनको भ्रमण नगरे पनि यसै वर्ष भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । भेटमा दाहाल र सीले नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारीका विषयमा छलफल गरेका थिए। 

प्रकाशित: १ चैत्र २०७३ ०३:५५ मंगलबार

चीन भ्रमणको तयारीमा दाहाल ओबिओआरमा हस्ताक्षर होला