राजनीति

साना पार्टी एकीकरण गर्न डा.भट्टराई, यादब र गच्छदारबीच प्रतिस्पर्धा

काठमाडौं—नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  संसद्मा प्रतिनिधित्व गरेका एकदुई सिटे साना दललाई आआफ्नो पार्टीमा मिलाउन होडबाजी सुरु गरेका छन्। 

केही दिनअघि नयाँ शक्ति र देवी ओझाले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक मञ्चबीच एकीकरण भएको छ । यसैगरी संयोजक भट्टराईले गंगा चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) सँग एकीकरण गरेका छन्।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि संसद्मा प्रतिनिधित्व गरेका साना दलसँग पार्टी एकीकरण गर्न  प्रक्रिया अघि बढाएका छन्।

केही दिनअघि नयाँ शक्ति र देवी ओझाले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक मञ्चबीच एकीकरण भएको छ । यसैगरी संयोजक भट्टराईले गंगा चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) सँग एकीकरण गरेका छन् । चौधरीसँग एकीकरण गरेपछि नयाँ शक्ति पार्टीको पनि संसद्मा प्रतिनिधित्व भएको छ । नयाँ शक्ति पार्टीका नेता पर्शुराम खापुङले अरू केही साना दलसँग  एकीकरणका लागि वार्ता भइरहेको जानकारी दिए ।  ‘संसद् र संसद्बाहिर रहेका अन्य साना दलसँग एकीकरण गर्ने हाम्रो प्रयास जारी छ’, खापुङले भने ।

संसद्मा सिटसंख्या बढाउन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक, गोपाल दहित नेतृत्वको थरुहट तराई पार्टी र रुक्मिनी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) सँग एकीकरण गर्न वार्ता थालेका छन् । पार्टी नेता रामजनम चौधरीले राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक, थरुहट तराई पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटसँग  एकीकरणका लागि अन्तिम चरणको कुराकानी भइरहेको बताए । ‘यसै साताभित्र पार्टी एकीकरण गर्ने सम्भावना छ’, चौधरीले भने, ‘त्यसका लागि कुराकानी अघि बढेको छ ।’

फोरम  नेपालका अध्यक्ष यादवले मधेसी दल र जनजाति पार्टीबीच एकीकरण गरी नयाँ प्रयोगको थालनी यसअघि नै गरेका छन् । फोरम लोकतान्त्रिकका एक नेता भन्छन्, ‘गच्छदारले पनि यस्तै प्रयोग गर्न खोजेका छन् । त्यसैले उनले जनजाति पार्टीसँग  एकीकरणका लागि चासो देखाएका हुन् । स्रोतका अनुसार गच्छदार आफंैले थापा र दहितसँग कुराकानी गरेका छन् ।

फोरम नेपालका अध्यक्ष यादवले संसद्मा प्रतिनिधित्व गर्ने साना दलसँग एकीकरण गर्न चासो देखाएका छन् । उनले साना दलसँग एकीकरण गर्न पार्र्टीका महासचिव रणध्वज कङ्दगवाको संयोजकत्वमा वार्ता समिति गठन गरेका छन् । समान विचार र समान सिद्धान्त राख्ने पार्टीसँग एकीकरणका लागि वार्ता सुरु गर्ने भनी फोरम नेपालले केही समयअघि निर्णय गरेको थियो ।

फोरम नेपालका नेताहरूले महेन्द्र यादव नेतृत्वको तराईमधेस सद्भावना पार्टीसँग पनि एकीकरणका लागि कुराकानी गरेको फोरम नेपालका नेताहरू बताउँछन् । यसैगरी फोरम नेपालका नेताहरूले यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टीसँग अनौपचारिक संवाद अघि बढाएको स्रोतको भनाइ छ । तर ठोस प्रगति भने हुन सकेको छैन ।

फोरम नेपालका कोषाध्यक्ष्य विजय यादवले  समान विचार र समान सिद्धान्त राख्ने अन्य पार्टीसँग एकीकरण गर्ने पार्टी नीति रहेको बताए । ‘समान सिद्धान्त र समान विचार राख्ने पार्टीसँग एकीकरण गर्ने हाम्रो पार्टीले निर्णय गरेको छ’, यादवले  भने, ‘यसका लागि प्रयास सुरु भएको छ ।’

मोर्चा निकट स्रोतका अनुसार डा. भट्टराईले नयाँ शक्तिलाई संघीय गठबन्धनमा प्रवेश गराई गठबन्धनको नेतृत्व आफूले गर्न चाहेका छन् । गठबन्धनका नेताहरूसँग गरेको अनौपचारिक छलफलमा भट्टराईले संघीय गठबन्धनको संरचना र नेतृत्व फेरबदल गर्न सुझाव राखेका थिए । ‘उहाँ (भट्टराई) को भित्री चाहना गठबन्धनको पुनर्संरचनाका नाममा नेतृत्व आफूले लिन चाहेको देखियो’, मोर्चाका एक नेताले भने, ‘तर हामी यो कुरा मान्ने स्थितिमा छैनौ।’

प्रकाशित: १ चैत्र २०७३ ०३:५३ मंगलबार

साना पार्टी एकीकरण गर्न डा.भट्टराई यादब गच्छदारबीच प्रतिस्पर्धा