राजनीति

कुरा थोरै र काम धेरै हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले कुरा थोरै र काम धेरै गर्ने गरेको बताएका छन्।

वेपत्ता योद्धा परिवार समाजले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री दाहालले माओवादी लडाकुहरुलाई दुई लाख दिने निर्णय अदालतको स्टे अर्डरका कारण रोकिएको समेत स्पष्ट पारेका छन्। उनले वेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक गर्ने, उनीहरुलाई शहीदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूति, परिपुरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने उल्लेख गरे।

उनले भने 'मैले ती हजारौं जनयुद्धको शहीदहरुलाई राजपत्रमा शहीदको रुपमा घोषणा गरेर मैले धेरै हल्ला नगरीकन आफ्नो काम गरेँ भन्ने लाग्या छ। त्यसपछि जनयुद्धको दिनलाई के दिन मान्ने भन्ने पनि थियो। मैले धेरै होहल्ला नगरिकन जनयुद्ध दिवसको दिन राष्ट्रिय विदा दिने निर्णय गरेँ। र, जनयुद्ध दिवस मनाउने निर्णय गरियो। कतिपयलाई त्यत्ति सहज नलोको हुन सक्छ। तर मैले त्यो गरेँ। तपाईहरुलाई त्यो थाहा छ। अनि, त्यसपछि त्यो दुइ लाखको कुरा यहाँ पनि उठ्यो। एकराजजीले पनि अघि भन्नु भयो। यो निर्णय भएको थियो २०७१ मा तर, पछि मुद्दा प¥यो। र, सर्वोच्चले त्यसलाई स्टे गर्‍यो। फेरी छलफल हुँदै गयो। अन्ततः फेरी सर्वोच्चले यो दिनुपर्छ भन्ने निर्णय गरेपछि मैले सरकार प्रमुखको हैसियतले दिने निर्णय गरेको हो। त्यो अदालतको फैसला अनुसार नै गरेको हो। तर कति ठूलो होहल्ला भयो त्यो दुई लाखमा तपाईहरुले सुन्नु भएको छ। अहिले फेरी स्टेमा गएको छ। तर तपाईहामी सबै एक हुँदाखेरी अदालतले फेरी दिनु भन्छ भन्ने नै मलाई विश्वास छ। यो सांकेतिक रुपमा अर्थपूर्ण छ। यी त भए माओवादी आन्दोलनसँग सम्बन्धित कामहरु, जो हामी गरिराखेका छौं। र, अव यो वेपत्ता योद्धाहरुको छानविनको कुरा र सत्य निरुपणको कुरा पनि अन्तिम चरणमा छ। सबैतिर सहमती बनाएर अव केही दिन भित्र त्यो विधेयक पारित गरेर आयोगमार्फत हामीले हिजो मात्रै तपाईहरुले सुन्नु भयो–नीति, कार्यक्रममा हामीले अवको २ वर्ष भित्र सम्पूर्ण काम टुंग्याउनेगरी काम अगाडि बढाउँछौं भनिएको छ।'

प्रकाशित: ७ जेष्ठ २०८० १२:३३ आइतबार

पुष्पकमल दाहाल