राजनीति

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा एमालेको पूर्ण समर्थन रहनेछः प्रदीप ज्ञवाली

फाइल तस्बिर

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले चाँडै नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट पास हुनेमा विश्वस्त रहेको बताए। उनले अन्य कुराहरुमा सत्तापक्षसँग आफ्ना विभिन्न असहमतिहरु भएपनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भने कुनै असहमति नरहने स्पष्ट पारे। विधेयक टुंगोमा पु¥याउँदा दलहरुबीच पर्याप्त परामर्श, बेपत्ता पारिएका व्यक्तिका परिवारबीच पर्याप्त परामर्श र पीडितको न्याय हुनेगरी पारित गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘अहिले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेको छ। केही दिनअघि संसदको विषयगत समितिमा पनि गइसकेको छ। म आशा गर्छु छिटो भन्दा छिटो टुंगिन सकोस्, अरु विषयमा हामी प्रतिपक्ष हौँला। धेरै कुरामा हाम्रा असहमतिहरु होलान्, तर संक्रमणकालीन न्याय टुंग्याउने कुरामा पूर्ण समर्थन रहनेछ। यो विधेयक टुंग्याउँदा दलहरुको बीचको परामर्शलाई पर्याप्त बनाउनुहोस् तर सबैभन्दा ठूलो कुरा यहाँ अघि बसेका पीडितहरुको न्याय हुनुपर्छ। उहाँहरुको परामर्शमा ल्याएर मात्रै न्याय दिनेगरी ल्याइयोस्।’

उपमहासचिव ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको सत्य परिवारले थाहा पाउनुपर्ने, यसको जिम्मेवार को हो र राहत परिपूरणको व्यवस्था गर्नेकुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए।  

प्रकाशित: ७ जेष्ठ २०८० १२:२५ आइतबार

प्रदीप ज्ञवाली