राजनीति

झलनाथ खनालले भने: देशमा एमाले नेतृत्व आवश्यक

नवलपरासी- नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सामाजिक रुपान्तरणका लागि अब एमालेको नेतृत्व अनिवार्य बनेको बताएका छन्।

एमालेको मेची–महाकाली जागरण अभियानअन्तर्गत आज नवलपरासीको भुमहीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सार्वभौमसत्ता जोगाउन एमालेको नेतृत्व आवश्यक रहेको जिकिर गरे। अभियानमार्फत स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय अखण्डताको पक्षमा सन्देश दिन खोजिएको उनको भनाइ थियो।

नेपाली जनताको स्वाभिमानलाई शिखरमा पुर्‍याउन एमालेले अभियान ल्याएको बताउँदै नेता खनालले मधेसी मोर्चाले विभिन्न वाहनामा अभियानलाई निष्कृय पार्न खोजेपनि सफल भएको दाबी गरे।

सभामा एमाले नेता माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, योगेश भट्टराई, विष्णु पौडेल, प्रदीप ज्ञवाली, घनश्याम भुसाललगायत केन्द्रीय नेताको उपस्थिति थियो। रासस

 

प्रकाशित: २९ फाल्गुन २०७३ १२:३७ आइतबार

झलनाथ खनालले भने देशमा एमाले नेतृत्व आवश्यक