राजनीति

हैटौंडाबाट फेरि सुरु भयो एमाले अभियान

हेटौंडा- सप्तरी घटनापछि स्थगित एमालेको मधेस केन्द्रित मेची–महाकाली राष्ट्रिय अभियान शुक्रबार हेटौंडाबाट फेरि सुरु भएको छ। हावाहुरी र हल्का वर्षाबीच हेटौंडाको भुटनदेवी चौरबाट अभियान सुरु भएको हो। भुटनीदेवी चौरमा आयोजित सभामा एमालेका केन्द्रीय नेताले संविधान संशोधनमा सहयोग नगर्ने पार्टीको अडान दोहोर्‍याए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि सुरु भएको अभियानको विरोध गर्नु  अनौठो संस्कार भएको बताए। 'कालो झन्डा देखाइए तै पनि हामी आफ्नै सुरमा अगाडि बढ्यौं। हामीले आफ्ना कुरा राखेको हो। कसैले त्यसलाई विरोध नै गरेर भाँड्नु आवश्यकता नै थिएन। तर सभा नै बिथोल्न आउने, यो कस्तो चरित्र हो', ओलीको प्रश्न थियो।

 ओलीले संशोधन सफल हुन नदिने बताए। 'यो देशको आवश्यकता नभएर निर्देशित मुद्दा हो। त्यसलाई एमालेले सफल हुन दिँदैन। देशको अहित हुने काम हुँदा एमाले हेरेर बस्ने पार्टी होइन', ओलीको भनाइ थियो।

महासचिव ईश्वर पोखरेलले एमालेको अभियान रोक्ने मात्रै नभएर उच्च नेतृत्वमाथि नै आक्रमण गर्ने उद्देश्यले सप्तरी घटना भएको बताए।

एमालेको अभियान फागुन २१ गते झापाबाट सुरु भएको थियो। फागुन २३ गते अभियान राजविराज पुगेपछि बिथोल्न खोज्ने मधेसी मोर्चा र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएपछि रोकिएको थियो। सो घटनापछि एमालेले अभियान तीन दिन स्थगित गरेको थियो।

अभियानअन्तर्गत शनिबार चितवनको नारायणगढमा सभा हुँदै छ। हेटौंडाबाट अभियान टोली चितवनतर्फ लागेको छ।

प्रकाशित: २८ फाल्गुन २०७३ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App