राजनीति

‘हदम्याद’भित्र अनुसन्धान भ्याउन कठिन

नक्कली भुटानी शरणार्थी प्रकरण

फाइल तस्बिर

एकातिर दिनहुँ नयाँनयाँ तथ्य भेटिइरहँदा थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने छ भने अर्कातिर ‘६० दिने’हदम्याद सकिने दिन नजिक आइरहेको छ। संगठित अपराध निवारण ऐन, २०७० अनुसार पक्राउ परेका व्यक्तिलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ। ऐनअनुसार हदम्याद सन्निकटमा आइसकेको छ। हदम्याद गुज्रिने दिन नजिकिँदै आउँदा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट अनुसन्धान सकाएर प्रतिवेदन बुझाउन प्रहरीलाई निरन्तर दबाब आइरहेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको छ। आवश्यकताअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं जिल्लामा रहेका प्रहरी वृत्तहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रहरी प्रधान कार्यालय नक्सालले पनि काठमाडौं प्रहरी परिसरलाई अनुसन्धानमा सघाइरहेका छन्।

ठुलो टिम संलग्न हुँदा पनि समय व्यवस्थापन गरेर अनुसन्धानका सम्पूर्ण पाटालाई किनारामा पुर्याउन प्रहरीलाई हम्मेहम्मे परिरहेको छ। ‘आज (बिहीबार) ५५औं दिन पुगिसक्यो। सरकारी वकिल कार्यालयबाट छिटो प्रतिवेदन बुझाउन दबाब आइरहेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले भने, ‘यता हाम्रो अनुसन्धानमा नयाँनयाँ सूचना फेला परिरहेका छन्। सूचनाको तथ्य जाँच र आरोपितसमक्ष पुग्न समय अभाव देखिएको छ।’

जिल्ला सरकारी वकिल कार्यालयले यसअघि प्रहरीलाई मंगलबारसम्म अनुसन्धान भ्याएर बुधबार प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। जुन निर्देशनको समयसीमा घर्किसकेको छ। समय घर्किएपछि सरकारी वकिल कार्यालयले परिस्थितिको गाम्भीर्यलाई हेरेर शुक्रबारसम्म समय थपिदिएर अनुसन्धान गर्न प्रहरीलाई सहज गरिदिएको छ। ‘हाम्रो अपेक्षा भोलि (शुक्रबार) सम्म प्रहरीको अनुसन्धान प्रतिवेदन आइदेओस् भन्ने छ। किनभने यो प्रकरण निकै गहिरो भएकाले हामीलाई पनि अध्ययन गरेर अभियोजन गर्न समय लाग्छ,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने, ‘खै उहाँ (प्रहरी) हरूलाई पनि निकै प्रेसर छ। मान्छे पक्राउ परेको पर्यै छन्। नयाँनयाँ विषय भेटिएका छन्।’  

यस प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई पक्राउ गरेको छ। मियाँले प्रयोग गर्दै आएको सरकारी गाडी ठगी गिरोहका सदस्यले पैसा ओसार्न प्रयोग गरेको खुलेको छ। रिजालले ठगी गिरोहका सदस्यबाट सात लाख रूपैयाँ बुझेको अनुसन्धानबाट देखिएपछि पक्राउ गरिएको प्रहरी स्रोत बताउँछ। दुवैजनालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको छ। उनीहरू दुवैको बयान लिने काम भने बाँकी छ। यसअघि पक्राउ परेका १४ जनाको बयान सकिएको छ। प्रहरीले अझै १५÷१६ जनालाई पक्राउ पुर्जी लिएर खोजी गरिरहेको छ। जसमा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा र थापा गृहमन्त्री रहँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईका छोरा निरज पनि छन्। उनीहरू पक्राउ पर्दा अनुसन्धानमा थप नयाँ रहस्य खुल्न सक्ने अवस्था छ।  

यसैले प्रहरीलाई शुक्रबारसम्म पनि अनुसन्धान सकेर प्रतिवेदन बुझाउन हम्मेहम्मे पर्ने स्थिति देखिएको छ। ‘शुक्रबार पनि प्रतिवेदन बुझाउन सक्ने अवस्था निकै नाजुक छ,’ प्रवक्ता एसपी रिजालले भने, ‘यही हुन्छ भन्न सकिने अवस्था छैन।’ प्रहरी अनुसन्धानको नेतृत्व गरिरहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्की भने सकेसम्म शुक्रबारसम्म प्रतिवेदन बुझाउने तयारी गरिरहेको बताउँछन्। ‘अहिल्यै यकीन गरेर भन्न सकिन्नँ। तर हाम्रो प्रयास शुक्रबारसम्म प्रतिवेदन बुझाउने रहन्छ,’ उनले भने।  

अनुसन्धान र अभियोजन सँगसँगै  

भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धानअन्तर्गत शुक्रबार ५६औं दिन पुग्नेछ। संगठित अपराध निवारणसम्बन्धी ऐनको व्यवस्थाअनुसार ६०औं दिन अर्थात् आगामी मंगलबार (जेठ ९ गते) सम्म जिल्ला अदालत काठमाडौंमा अभियोजनसहित मुद्दा दायर भइसक्नुपर्छ। सामान्यतया संगठित अपराधको अनुसन्धान प्रतिवेदन प्रहरीले ५७औं दिनसम्म बुझाइसक्नुपर्ने अभ्यास छ। बाँकी तीन दिनमा सरकारी वकिल कार्यालयले अभियोजनपत्र तयार गरेर मुद्दा दायर गर्छ। तर यो प्रकरणमा ५७औं दिनभित्रै सम्पूर्ण अनुसन्धान सकिने अवस्था नदेखिएको अनुसन्धान अधिकारी बताउँछन्।  

यो विषयमा आफू जानकार रहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख न्यौपाने बताउँछन्। यसकारण सरकारी वकिल कार्यालयबाट आफूले प्रहरीलाई अनुसन्धान सहजीकरण गरिदिएको उनको दाबी छ। ‘हामीले सहजीकरण गरिदिएका छौं। शुक्रबारसम्म प्रतिवेदन दिन भनेका छौं तर पूर्ण प्रतिवेदन आउँछ भन्ने अवस्था छैन। जुन हामीले बुझेका छौं,’ न्यौपानेले भने, ‘त्यसैले अब अनुसन्धान र अभियोजनको काम सँगसँगै गरेर मुद्दा दायर गर्ने र त्यसपछि पनि अनुसन्धान र अभियोजनका काम पूरकका रूपमा जारी राख्ने हाम्रो तयारी छ।’ सरकारी वकिलको कार्यालयले अभियोजनको काम पनि थालिसकेको उनले बताए। ‘यो प्रकरणमा धेरै पाटा, धेरैको संलग्नता, धेरै मुद्दा लाग्न सक्ने भएकाले हामीले तयारी पनि सोहीअनुसार गरिरहेका छौं। प्रहरीले प्रतिवेदन बुझाइनसकेको भए पनि मुद्दामा सँगसँगै भएको र धेरै तथ्य बुझिसकेकाले अभियोजन तयारीका कामहरू पनि सुरु गरिसकेका छौं,’ उनले भने। अभियोजनका लागि कार्यालयसँग पर्याप्त जनशक्ति रहेको पनि न्यौपानेले बताए।

प्रकाशित: ५ जेष्ठ २०८० ००:३१ शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण ‘हदम्याद’भित्र अनुसन्धान भ्याउन कठिन