राजनीति

कर्णालीमा बहुवर्षीय आयोजनालाई बजेट अभाव

कर्णाली प्रदेश सरकारसँग हालसम्म ११४ वटा बहुवर्षीय आयोजना छन्। ति आयोजनाका लागि प्रदेश सरकारसँग प्रयाप्त बजेट छैन्। कर्णालीको आगामी आर्थिक वर्षको बजेट बहुवर्षीय आयोजना केन्द्रीत हुने देखिन्छ। आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले नयाँ योजना भन्दापनि बहुवर्षीय आयोजना सम्पन्न गर्ने गरेर बजेट ल्याइने बताए।

‘एक त कर्णालीको आन्तरिक स्रोत नहुँदा प्रदेशको बजेट न्यून छ,’ उनले भने, ‘बहुवर्षीय आयोजना धेरै हुँदा नयाँ योजना समेटन सकिने अवस्था छैन्।’ ११४ आयोजना मध्ये कर्णाली प्रदेश रंथगशालाबाहेकको स्रोत सुनिश्चितता छैन्। प्रदेश सरकार अहिले नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रीत छ। आगामी जेठ १५ गते नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने प्रचलन छ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३२ अर्ब ३१ करोड ६१ लाख बजेट ल्याएको थियो। प्रदेशको आन्तरिक आम्दानी नभएकाले कर्णालीको बजेट केन्द्रबाट आउने अनुदानको भरमा निर्माण हुन्छ। प्रदेश सरकारले ३० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको छ। ‘संघीय सरकारले पठाउने सशर्त र विशेष अनुदानका आधारमा हामीले बजेट बनाउने हो, प्रदेशको आन्दानी न्यून छ,’ उनले भने, ‘संघबाट आउने बजेटका आधारमा ३० अर्बसम्मको बजेट ल्याउने तयारी छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिमको बजेट अघिल्ला आर्थिक वर्षको भन्दा कम नहुने बताउँदै आएका छन्।

चुनावकै बेला हालका प्रधानमन्त्री र उपप्रधानमन्त्रीले कर्णालीका विभिन्न जिल्लामा भएका कार्यक्रमहरुमा विगतको भन्दा धेरै बजेट सिंहदरवारबाट पठाउने घोषणा गरेका थिए। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का विगतको भन्दा नघट्ने गरेर कर्णाली र सुदूरपश्चिमलाई बजेट पठाइने बताउँछन्।

‘विकासमा पछाडि परेको कर्णाली र सुदूरपश्चिमलाई विगतको भन्दा धेरै बजेट पठाउने गरेर हामीले गृहकार्य गरिरहेका छौं,’ उपप्रधानमन्त्री खड्काले भने, ‘आर्थिक मन्दीका कारण संघको बजेट कम भएपनि कर्णाली र सुदूरपश्चिमलाई जाने बजेटमा कमि हुन दिँदैनौं।’

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रतिवर्ष १० हजार युवाहरुलाई रोजगार दिने घोषणा गरेका छन्। यसका लागि अहिले कर्णालीले प्राप्त गरिरहेको बजेट अपुग हुन्छ। देशको आर्थिक मन्दीको असर मुख्यमन्त्रीको घोषणामा पनि पर्ने देखिन्छ।

आर्थिक मामिला मन्त्री सिंहले वितरणमुखि र विचौलियाको नियन्त्रणमा नरहने गरेर बजेट ल्याइने बताए। ‘तीन वटै तहका सरकारको महत्वलाई जोगाउँदै वितरणमुखि विचौलियाको नियन्त्रणमा लागेर जनताकाले परिवर्तनका अभाष हुनेगरी बजेट निर्माण गरिरहेका छौं,’ उनले भने, ‘कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउँदै कर्णालीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरेर बजेट ल्याउँछौं।’

प्रकाशित: ४ जेष्ठ २०८० १३:१९ बिहीबार

कर्णाली प्रदेश