राजनीति

संसदको प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन: सांसद भट्टराई

नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त नभएको टिप्पणी गरेका छन्।

बिहीवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रश्न पहिले नै सोध्ने र तयारी साथ उत्तर ल्याएर प्रश्नोत्तर गर्दा जीवन्त नहुने बताए। प्रश्नोत्तर केवल कर्ममाण्डी मात्रै भएको उनको भनाइ थियो।

भट्टराईले नक्कली भूटानी शरणार्थी प्रकरणको घटनालाई सामसुम पारिने हो कि भन्ने आशंका आफूलाई उब्जिएको बताएका छन्।

उनले भने ‘संसदको प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन। प्रश्न पहिले सोधेर अनि उत्तर ल्याएर त्यसरी जीवन्त हुँदैन। प्रश्नोत्तर जीवन्त हुनुपर्छ। माननीयज्युहरुले त्यही सोध्ने प्रधानमन्त्रीले त्यही उत्तर दिने हुनुपर्छ। त्यसो भयोभने यो अलिकति आकर्षक हुन्छ। नत्र यो कर्मकाण्डी हुन्छ। हाम्रो आशंका के छ भने राजनीतिक दबाबले, वाह्य दबाबले र विभिन्न खालको दबाबले निर्मला हत्या प्रकरणलाई जसरी अनुसन्धानलाई अन्यत्र मोडियो त्यसैगरी यो अनुसन्धान अन्यत्र मोडिन्छ कि अथवा यस्तै सामसुम हुन्छ कि भन्नेकुराको आशंका आम हिसावले उठेको छ । त्यसकारणले त्यसलाई चित्तबुझ्दो प्रधानमन्त्रीको आजको जवाफले दिएन।’

उनले धेरै प्रश्नहरुमा प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएको उल्लेख गरे।

प्रकाशित: ४ जेष्ठ २०८० १२:५४ बिहीबार

एमाले नेता योगेशकुमार भट्टराई नेकपा एमाले सांसद योगेशकुमार भट्टराई